बाबा खै त टुँडिखेल ?

खरीबोट

एकादेशमा एउटा काठमाडौं भन्ने सहर थियो, त्यो शहरको बीचमा एउटा टुँडिखेल नाम गरेको विशाल चौर थियो रे ! सहरका मानिसहरुलाई हावा खाने ठाउँ, थकाई लाग्दा सुस्ताउन, फुर्सदमा टहलिन, जात्रा मनाउन र केटाकेटीहरु खेल्न भनेर बनाइएको थियो रे त्यो चौर ।

१२०० वर्ष अगाडी टुँडिखेल चौरको बीचमा एउटा ठुलो रुख थियो रे जुन रुखलाई गुरुमाता भनेर दिनदिनै खाना खुवाउने गरिन्थ्यो रे । विस्तारै मान्छे अल्छी हुँदै आएछन् र वर्षमा एकपटक मात्रै खाना खुवाउन थालेछन् त्यो गुरुमाता रुखलाई । अझै केहि समय पछी त त्यो रुखानै काटेर फालिदिएछन् ! तर त्यो गुरुमाता रुख कसले काट्यो भन्ने कुरा कसैले थाहा पाएनछन् ।

केटाकेटीहरु खुब रमाइलो मानेर खेल्थे रे टुँडिखेलको खुल्ला चौरमा, त्यस्तैमा गुरुमापा नाम गरेको एउटा राक्षसले टुँडिखेलको चौरमा खेल्न आउने केटाकेटीलाई खुब दु:ख दिन थालेछ । त्यो राक्षसलाई घोडाको टापले थिचेर मार्नका लागि घोडा कुदाउने परम्परा बसालेछन् त्यहाँका मानिसहरुले ।

राजा-महाराजाले कुनै कुराको उर्दी लगाउँदा होस् या कुनै सुचनाको घोषणा गर्दा त्यहि चौरबाट नै गर्थे रे । वि.सं १९८० को दशक तिर चन्द्रशमशेरले नेपालमा दासत्व उन्मुलनको घोसणा त्यही चौरबाट गरेका थिए रे । २००७ सालमा राजा त्रिभुवनले पनि त्यहि चौरमा रहेको खरीको बोटबाट नेपालको प्रजातन्त्र घोसणा गरि देशमा राणा शासनको अन्त्य गरेका थिए रे । तर त्यो खरीको बोट नै कसले काटिदियो कुन्नि त्यहाँबाट खरीको बोट नै बिलाएर गएछ ।

सुरक्षा बर्तौला

एकदिन राजालाई फराकिलो टुँडिखेल देखेर लोभ लगेछ र सैनिकहरुलाई परेड खेलाउने अर्को ठाँउ हुँदाहुँदै पनि टुँडिखेलमै सैनिक परेड खेलाउन थालेछन् । २०१३ सालमा सैनिकमञ्च बनाएछन् । जात्रा मनाउन सुरक्षित बनाउने भन्दै तारबार पनि लाएछन् तर पछी त्यहाँ त जात्रा नै हुन छोड्यो रे ! अझै त्यो सैनिकमञ्च भित्र त सर्वसाधारण जनताको प्रवेशमा नै रोक लगाउन थालियो रे !

टुँडिखेलको तल्लोपटि २३ रोपनी जग्गामा बसपार्क थियो रे तर त्यहाँ एउटा ठग ठेकेदारले भ्यु-टावर बनाउछु भनेर २०७१ सालको फागुन महिनाबाट काम थालेछ, २०७३ बैशाख २२ गते बसपार्क खुलामञ्चमा सारेछन् । तर भ्यु-टावर बनाउछु भन्ने त्यो ठग ठेकेदारले भने अझैसम्म भ्यु-टावर बनाईसकेको छैन रे । त्यतिबेला काठमाडौं सहर घरै घरले भरिसकेको थियो 'कंक्रिटले सहर भरिएको अवस्थामा अर्को कंक्रिटकै थुप्रोको भ्यु-टावर चढेर के नै हेर्ने रहर थियो होला र नेपालि जनतालाई !'

त्यतिले नपुगेर दुष्ट दैत्यको जस्तो लोभी र पापी मन अनि बिचार भएका नेता र ठेकेदारहरु मिलेछन् र टुँडिखेलभित्रै ४० वटा सटर बनाएर भाडामा दिएछन्, हरेक महिना १५ लाख बराबरको आम्दानी गर्छन रे त्यहि सटरबाट, सरकारलाई भने राजस्वसम्म पनि बुझाउदैनन् रे !

टुँडिखेल चिरेर सहिदगेट बनाए, रत्नपार्क बनाए, टुँडिखेलभित्रै सैनिकमञ्च बनाए, अझै त्यतिले नपुगेर बाँकी बचेको चौरमा पनि बसपार्क बनाए र सटर बनाएर पैसा कमाउने थलो समेत बनाउन भ्याएछन् रे ।

२०७२ सालमा ठुलो भूकम्प आएछ नेपालमा ! सारा काठमाडौंवासीलाई त्यहि टुँडिखेलले आश्रय दिएको थियो रे । भूकम्पले टुँडिखेलको मख्लोपटी रहेको धरहरा पनि ढालेछ अनि अलि मास्तिरको दरवार हाईस्कुल पनि भत्काएको थियो रे । अरु पनि थुप्रै क्षति पुर्याएको थियो रे काठमाडौं र देशभरिकै विभिन्न ठाँउहरुमा । त्यसको केहि समयपछी धरहरा पुननिर्माणको काम सुरु भयो रे, दरवार हाईस्कुल पनि छिमेकीराष्ट्र चिनको सहयोगमा पुननिर्माण हुने भयो रे । तर फेरी सास्ती भने बचेकुचेको त्यहि टुँडिखेलले नै पाउने भएछ ।

निर्माण सामग्री जति सबै लगेर टुँडिखेलमै थुपारेछन् र कामदारहरुलाई बस्ने शिविर देखि र शौचालय पनि त्यहिँ नै बनाएछन् ।

नेपालकै एउटा गाउँमा बस्ने एउटी नानीले तिहारमा देउसी भैलो खेल्नेले भनेको सुनेकी रहिछिन् 'ए यो घर कत्रो ?  देउसी रे !, ए सिंहदरवार जत्रो, देउसी रे !, ए यो आगन कत्रो ?  देउसी रे !, ए टुँडिखेल जत्रो, देउसी रे !' त्यसरी देउसी खेलेको सुनिरहदा उनको कलिलो मस्तिष्कले पनि सोच्थ्यो 'साच्ची कत्रो होला टुँडिखेल !' अनि उनको कल्पनामा एउटा विशाल चौर खडा भएछ । उनका थुप्रै अबोध रहरहरुमा अर्को रहर थपिएछ 'काठमाडौं पुगेर सिंहदरवार र टुँडिखेल हेर्ने ।' 

यस्तैमा उनलाई एकपटक आफ्नो बाबासँग काठमाडौं आउने मौका पनि मिलेछ र उनी बाबाको हात समाएर काठमाडौं सहर सँगै टुँडिखेल घुम्न गइछिन् । रानीपोखरीलाई दाइने पार्दै त्रिचन्द्र क्याम्पसको आडबाट हिन्न थालेछन् दुई बाबुछोरी । छोरी, बाबालाई सोद्थिन् बाबा यो के हो ? अनि बाबाले आफ्नी छोरीको कौतुहलता मेटाउन बताउदै हिनेछन् यो घन्टाघर, यो त्रिचन्द्र क्याम्पस.......त्रिचन्द्र क्याम्पसकै पछाडिपटीको रानीपोखरी चिहाएर हेर्दै उनीहरु रत्नपार्क पुगेछन्, सानी नानीले रत्नपार्कको आडैमा जोडिएको बसपार्क देखिछीन्, उनलाई उसको बाबाले सबै चिनाउदै लागेछन् 'यो चाहिँ रत्नपार्क'।

त्यसपछि फेरी अर्को बार लगाएर घेरिएको सैनिकमञ्च पनि देखिछीन् जँहा सैनिकहरु परेड खेल्दै रहेछन् । अचम्म मान्दै फेरी सोदिछीन् बाबा यो के गरेको ?  बारको छेउबाट हिन्दै अलिपर पुगेपछी त्यो बार भित्र पनि अर्को बार लगाइएको रहेछ काँडेतारले, सैनिकमञ्चको सिमा छुट्याइएको रे त्यो ।

काँडेतारको छेवैबाट अर्को तिर केहि मानिसहरु दौडिरहेका, केहि युवा-युवतीहरु भलिबल, फुटबल खेलिरहेका त केहि मानिसहरु योगा गरिरहेका देखिछीन् । त्यो सबै गर्ने ठाउँ भने एकदमै थोरै थियो रे र त्यहिँ ढुंगा, वालुवा, रड जस्ता थुप्रै सामानहरु को अग्लो-अग्लो चांग पनि देखिछीन् । मान्छे बस्न मिल्नेगरि बनाइएको जस्ताले बेरेको घर पनि देखिछीन् । एउटा माटोको अग्लो पहाड पनि त्यहि बार भित्रै देखिछीन् ।

त्यहाँको बार सकिएछ र अर्कोपटी सडकको बिचमा सहिदगेट र सहिद गेटको अर्को तिर बाट दशरथ रङ्गशालाको सिमा शुरु भएको पनि देखिछीन् । उनले यो सबै देखिछीन् तर उनि हेर्न भनेर गएकी टुँडिखेल भने कतै देखिनछीन् ! बाबाले अब घर जानुपर्छ छोरी हामीले टुँडिखेल घुमेरे सकेयौं भनेपछि ति नानीले सोधिछीन् ''बाबा खै त टुँडिखेल ?''

सम्बन्धित समाचार

अकुपाइ टुँडिखेल अभियान सञ्चालनको अर्थ छैन : प्रमुख शाक्य 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ‘अकुपाइ टुँडिखेल अभियान’को सञ्चालन गर्नु कुनै अर्थ नरहेको स्पष्ट पारेका छन् ।   उनले हाल टुँडिखेल आसपासमा भवनको पुनःनिर्माणको काम भइरहेकाले सुन्दरतामा केही कमी

प्याजको कथा

आज प्याजको कथा सुनाउँछु है ।  पहिले - पहिले प्याज काट्दा रुनुपर्थ्यो तर अब त प्याज किन्न नै रुनुपर्ने भएको छ। प्याज सम्झिँदा रमाइला किस्साहरु पनि सम्झिन्छु म। सानो छँदा भान्छामा ममीलाई

बाबा खै त टुँडिखेल ?

एकादेशमा एउटा काठमाडौं भन्ने सहर थियो, त्यो शहरको बीचमा एउटा टुँडिखेल नाम गरेको विशाल चौर थियो रे ! सहरका मानिसहरुलाई हावा खाने ठाउँ, थकाई लाग्दा सुस्ताउन, फुर्सदमा टहलिन, जात्रा मनाउन

मुक्त टुँडिखेल अभियान : ऐतिहासिक खरीको बोट पुन:स्थापना गरिने 

काठमाडौँ । अतिक्रमणमा परको टुँडिखेललाई पहिलाको स्वरुपमा ल्याउन टुँडिखेल बचाऊ अभियान अन्तर्गत खरीको बोट रोप्ने तयारी गरिएको छ ।  कात्तिक ३० गते शनिवार बिहान ८ बजे टुँडिखेलमा खरीको बोटको पुनःस्थापना गर्ने


z