• २०८३ असोज ४ आइतबार

खेतमा काम गर्ने सि जिनपिङको यसरी भयो उदय

खेतमा काम गर्ने सि जिनपिङको यसरी भयो उदय

२१औँ शताब्दीमा यस्ता नेता कमै छन्, जसले खेतमा काम गरेर पनि सत्ताको शिखर चढ्न सफल भएका छन् । आजभन्दा पाँच दशकअगाडि चीनमा सांस्कृतिक क्रान्तिको आँधी आउँदै गर्दा अहिलेका राष्ट्रपति सी जिनपिङ केवल १५ वर्षका थिए । उनी खेती किसानी गर्दथे । गृहयुद्धले जकडिएका बखत चीन कम्युनिष्टहरुको गढ थियो । येनानका मानिसहरु आफ्नो भूमिलाई लालक्रान्तिको पवित्र भूमिका रुपमा लिन्थे । अन्दरुनी इलाकामा सि जिन्दगीको संघर्षमा थिए ।

उनै सी अर्थात् वर्तमान राष्ट्रपति चीनमा जारी कम्युनिष्ट पार्टीको कांग्रेसमा दोस्रो राष्ट्रपतीय कार्यकालका लागि अनुमोदित हुँदै छन् । चीनले भौतिक प्रगति सुपरपावर गतिमा गरिरहँदा सीले अहिले त्यसको नेतृत्व गरिरहेका छन् । उनकै गाउँ अन्दरुनी अहिले व्यापक सहरीकरण भइरहेको छ । सीको गाउँलाई कम्युनिष्ट पार्टीका भक्तहरुले तीर्थस्थलकै रुपमा लिने गरेका छन् । सन् १९६८ मा माओले युवाहरुलाई गाउँ गएर किसन मजदुरबाट संघर्ष गर्न सिक्न निर्देशन नै जारी गरेका थिए । सायद सीले पनि यसबाट धेरै पाठ सिके । १५ वर्षसम्म के गर्ने के नगर्ने दुविधाग्रस्त एक किसान जसै २२ वर्ष टेके, विस्तारै आत्मविश्वासी हुनथाले । त्यतिबेलै उनले माओको छोटो लालकिताब पढ्ने गर्थे ।

राष्ट्रपतिको रुपमा पाँच वर्षे कार्यकालमा सीले आफूलाई एक महान् नेताका रुपमा विश्वसामु उभ्याइसकेका छन् । उनले जनताको दुःखलाई नजिकबाट नियाल्ने प्रयास गरेका छन् । उनी स्वयं भन्छन्, ‘म फूलै फूलको हार र तालीको गडगडाहटदेखि परै रहेर हेर्ने गर्छु । मानवीय सम्बन्धको कमजोरी अनि राजनीतिलाई गहिराइमा पुगेर हेर्छु ।’ सीका बाबु पनि कम्युनिष्ट क्रान्तिका नायक थिए । तर १९६० को दशकमा भने उनको बाबुलाई पार्टीबाट बाहिर निकालिएको थियो । त्यतिबेला माओले धेरै नेतामाथि कारबाही गरेका थिए । उक्त घटनाले सीको परिवार लज्जित हुनपुग्यो । उनकी बहिनीले आत्महत्या गरिन् । १३ वर्षमै सीको पढाइ बन्द भएको थियो । किनभने बेइजिंगको सबै विद्यालय त्यतिखेर बन्द गरिएको थियो । सीले धेरै समय माओका बदनाम रोड गार्ड्सको आँखा छलेर घुमफिर गर्ने गरेका थिए ।

६० को दशकमा चीनका गाउँ गाउँको जिन्दगी एकदमै संघर्षपूर्ण थियो । बिजुली थिएन । गाउँ जाने सडक पनि कच्ची थिए भने खेतीको लागि मेसिनहरु थिएनन् । त्यतिखेरै सीले सडक मर्मत, बाँध बनाउने जस्ता काम सिकेका थिए । काम गर्दा जस्तो एक सामान्य मजदुरको दैनिकी हुन्छ, ठीक उस्तै थियो वर्तमान चिनियाँ राष्ट्रपतिको सुरुवाती जीवन पनि । एक किसान साथी लु होउशेंगका अनुसार भोक लाग्दा कसैलाई के खान पाइन्छ भन्ने अन्दाज पनि हुँदैनथ्यो । पढ्नका लागि माओको भाषण र अखबार बाहेक केही हुँदैनथ्यो ।

त्यसो त सीलाई पहिलेदेखि नै हँसीमजाकमा रुचि थिएन । उनी खेलकुदमा पनि खासै रुचि राख्थेनन् । रोचक कुरा त आफ्ना लागि राम्री गर्लफ्रेण्ड बनाउनेतिर पनि सीको ध्यान थिएन । १८ वर्षको उमेरमा उनी कम्युनिष्ट युथ लिगमा सामेल भएका थिए भने २१ वर्षमा संघर्षकै दौरान कम्युनिष्ट पार्र्टीको सदस्य बने । उनी २५ वर्षका हुँदा उनका बाबु पनि पुनः कम्युनिष्ट पार्टीमा फर्किए । उनलाई गुआंगडांगमा काम गर्न पठाइएको थियो । बाबुको मद्दतबाट सीले आफ्नो करिअर अगाडि बढाएका थिए । विस्तारै पार्टीमा पनि पहुँच पुग्न थाल्यो । ७० को दशकमा उनी चीनको सेनामा भर्ती भए । उनको पहुँच अब कम्युनिष्ट पार्टीको उच्च नेतासम्म पुग्नथालिसकेको थियो ।

अन्तमुर्खी स्वभावका सी सधैँ व्यस्त रहन्थे । यही गुणले होला एक राजनेताकी छोरीसँगको पहिलो विवाह सुखद भएन । यसको फाइदा उनलाई आफ्नो करिअर अगाडि बढाउनतिर भयो । उनी सत्ताको शिखर चुम्दै चर्चित बन्दै गएका थिए । सीको विवाह एक मसुर गायिका पेंग लियुआनसँग भयो । जो अहिले पनि उनकी पत्नी छन् । सीले आफ्नो बाबुलाई माओले कसरी सताएका थिए भन्ने राम्ररी देखेका थिए । तर उनी सधैँ चुप रहे ।

अमेरिकामा सी जिनपिंग सन् १९८५ मा केही दिन एलेनोर ड्वोरचाकको घरमा बसेका थिए । उनका छोराकै ओछ्यानमा सुतेका थिए सी । भित्तामा स्टारट्रेक फिल्मको पोष्टर झुण्डिएको थियो । एलेनोरको घर अमेरिकाको आयोवाको मस्कटिन सहरमा रहेको छ । जब २०१२ मा जिनपिंग आयोवाको भ्रमणमा गएका थिए, एलेनोरले भनेका थिए कि कसैले पनि यस्तो अनुमान पनि लगाउन सक्दैन कि उनको घरमा आएको कुनै व्यक्ति कुनै दिन देशकै राष्ट्रपति भएर आउनेछ । २०१२ मा जिनपिंग चीनको कम्युनिष्ट पार्टीको नेता बनेका थिए । उनी कम्युनिष्ट पार्टीमा सर्वसम्मत रुपमा चुनिएका थिए । तर कसैलाई पनि आगामी पाँच वर्षमा सी यस्ता नेता भएर उदाउनेछन् भन्नेबारे अनुमानसम्म पनि थिएन ।

राष्ट्रपतिको रुपमा पाँच वर्षे कार्यकालमा सीले आफूलाई एक महान् नेताका रुपमा विश्वसामु उभ्याइसकेका छन् । उनले जनताको दुःखलाई नजिकबाट नियाल्ने प्रयास गरेका छन् । उनी स्वयं भन्छन्, ‘म फूलै फूलको हार र तालीको गडगडाहटदेखि परै रहेर हेर्ने गर्छु । मानवीय सम्बन्धको कमजोरी अनि राजनीतिलाई गहिराइमा पुगेर हेर्छु ।’

११ जुन २०१५ मा एक व्यक्ति एउटा अदालतको कठघरामा उभिएका देखिएको थियो । उनी त्यही सुरक्षाकर्मीबाट घेरिएका थिए, जो कुनै बेला उनकै हुकुम शिरोपर गर्दथे । चीनमा डरको दोस्रो नाम उनी नै थिए । सबैकुरा उनकै नियन्त्रणमा थियो । तर समय बदलियो र उनी अन्ततः अदालतमा अपराधी भएर उभिनुपरेको थियो । उनले अदालतमा आफ्नो अपराध कबुल गरे, र सजायको विरुद्ध अपिल नगर्ने बताउनुपर्यो । उनी थिए चाउ योंगकांग । चीनमा कम्युनिष्ट शासनको इतिहासमा कानुनको सामना गर्ने सबैभन्दा वरिष्ठ नेता थिए उनी । उनी बाहेक बो शीलाई नामका एक नेतालाई पनि सीले कानुनको पाठ पढाएका थिए । उनीहरुविरुद्ध पार्टी एकतामा ठेस पुर्याएको आरोप लगाइएको थियो ।

सी सत्तामा आएपछि ठूला ठूला भोज आयोजना गर्ने कार्यक्रमहरु बन्द गरिए भने थुप्रै राजनीतिक सुधारहरु भए । सीले सत्तामा आएपछि भ्रष्टाचारविरुद्ध कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए । उनले पैसा कमाउने इच्छा भएकालाई पार्टीमा नआउन सुझाएका थिए । सीले नेताहरुका लागि पनि थुप्रै कानुनहरु बनाइदिए, ताकि भ्रष्टाचारजन्य क्रियाकलाप पार्टीभित्र अन्त्य होस् । तर यति हुँदा हुँदै पनि सीले पूरै रोक्न सकेनन् । उनी राष्ट्रपति हुनुअगावै उनका धेरै आफन्तहरु करोडपति भइसकेका थिए । सीलाई राम्ररी थाहा छ कि चीनको समाज धेरै भ्रष्ट भएको छ ।

यद्यपि चाउविरुद्ध सीले षड्यन्त्र गरेको आरोप भने लाग्दै आएको छ । उनका गाउँका मानिसहरु चाउले देशका लागि थुप्रै काम गरेको बताउँछन् । पछिल्लो पाँच वर्षमा चीनमा नेता र कारोबार हराएको भनिन्छ । उनीहरुलाई नजरबन्दमा राखेको हुनसक्ने पनि विश्वास गरिन्छ । यसको सन्देश भनेको सीको शासनकाल नै हो । भ्रष्टाचार आरोपमा सीले धेरै नेतालाई पार्टीबाट बाहिर फालिदिएका छन् । सीका विरोधी नेता गुओ वैगुईका अनुसार सीका नजिकका वांग आफैँ भ्रष्ट छन् तर उनलाई भ्रष्टाचारविरुद्ध काम गर्ने संस्थाको प्रमुख बनाइएको छ । गुओ अहिले न्युयोर्कमा बस्छन् । उनी युट्युबबाट सीका नजिकका नेताविरुद्ध आवाज उठाउँछन् । तर उनले सीमाथि भने सिधा आरोप आजसम्म लगाएका छैनन् ।

पूर्ण सफाइ गर्ने अभियानका बाबजुद चिनियाँ कम्युनिष्ट पार्टीमा भ्रष्टाचार कम भएको छैन । तर सीको यस अभियानमा कुनै कमी पनि आएको छैन । चीनमा इन्टरनेटमा समेत सरकारले नियन्त्रण राख्छ । करिब ७५ करोड चिनियाँले इन्टरनेट प्रयोग गर्छन् । यो भनेको युरोप र अमेरिका मिल्दा पनि बढी संख्या हो । सी चीनलाई साइबर सुपरपावर बनाउन चाहन्छन् । साइबर सुरक्षालाई सी देशकै सुरक्षाको मुद्दा मान्छन् । झूटो आइडी बनाएर चीनमा कसैले पनि सामाजिक सञ्जाल चलाउन सक्दैन । सी चीनलाई धनी मुलुक बनाउन चाहन्छन् । देशमा केवल एउटा पार्टी होस्, मानिसहरु अनुशासनमा रहून् भन्ने नै सीको चाहना रहँदै आएको छ । चीनका विश्वविद्यालयहरुमा पार्टीको पहुँच बढाइँदै लगिएको छ । किताबमा पश्चिमी सभ्यताबारे पढ्न पाइँदैन भने निजी कम्पनीमा पनि कम्युनिष्ट पार्टीको सदस्यता खोलिने गरेको छ ।

  • बीबीसी हिन्दीबाट अनुदित

 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै