• २०८१ असार १२ बुधबार

‘छक्का पञ्जा २’ को रि-रिलिज असफल भएको दीपकराजको स्वीकारोक्ती

kharibot

काठमाडौँ । दुई वर्ष अगाडि प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘छक्का पञ्जा २’ युट्युबमा रिलिज नगरेर दीपकराज गिरीको समुहले शुक्रवारबाट पुनः हलमा प्रदर्शन गरेको छ । हलिउडको ठूलो फिल्म ‘एभेन्जर्स – इन्ड गेम’ को डरले नेपालको ठूलो फिल्म 'दाल भात तरकारी' ले समेत रिलिज हेरफेर गरेपछि दीपकले ‘छक्का पञ्जा २’ शुक्रवार पुनः प्रदर्शन गर्ने घोषणा गरेका थिए । 

 रि-रिलिजमा पनि फिल्मले पर्याप्य हल पाउने र बक्सअफिसमा राम्रो पैसा कलेक्सन गर्ने निर्माण टिमको अपेक्षा थियो । तर, फिल्मले सिंगल थिएटर दुई दर्जनभन्दा बढी हात पारे पनि मल्टीप्लेक्समा एक सोजमा समेत आफ्नो उपस्थिति जनाउन सकेन । मल्टीप्लेक्समा यो फिल्म ‘एभेन्जर्स’ को मारमा पर्‍यो । हलिउडको यो फिल्मको नेपाली दर्शकमा गजबको क्रेज देखिएको छ । 

‘छक्का पञ्जा २’ पुनः प्रदर्शनमा आउने जानकारी दिन दीपकराजले राजधानीमा सञ्चालित सबै मल्टीप्लेक्सहरुमा मोटो रकम खर्च गरेर प्रोमो समेत बजाएका थिए । तर, प्रोमो बजाइएका हलहरुले नै फिल्मलाई एक सोज समेत बाँडेनन् । मल्टीप्लेक्सहरुले केही सोज दिएको भए फिल्मले राम्रो व्यापार गर्ने सम्भावना थियो । तर, अब यस फिल्मलाई सिंगल थिएटरको मात्र भर छ । 

हलिउड फिल्मले रि-रिलिज असफल बनाएपछि दीपकराज गिरीले फेसबुकमा लामो स्टाटस कोर्दै ‘छक्का पञ्जा २’ को पुनः प्रदर्शनको प्रयास सफल नभएको स्वीकार गरेका छन् । पुनः प्रदर्शन पनि एउटा सम्भावना हुनसक्छ भन्ने आफूहरुको सोच असफल भएता पनि कुनै ग्लानी नभएको उनको भनाई छ ।

उनी लेख्छन्, 'सफलताको आकाशमा त्यही उड्छ, जसले प्रयोगका पखेटाहरू आफूमा जोडेको हुन्छ ।'

‘छक्का पञ्जा २’ पुनः प्रदर्शनमा ल्याउने घोषणा गर्दा दीपकराजको टिमलाई दर्शकले लोभीको संज्ञा दिएका थिए । पुरानो फिल्म देखाएर फेरि पैसा कमाउन लागेको चौतर्फी आरोपपछि दीपकराजले कमाईको केही प्रतिशत समाजसेवामा खर्च गर्ने घोषणा गरेका थिए । उनले स्टाटसमार्फत् रिपिट रिलिज असफल भए पनि व्यक्तिगत रुपमा एक लाख रासकोट अस्पताललाई प्रदान गर्ने घोषणा गरेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै