• २०८१ बैशाख २४ सोमबार

भिभोले ल्यायो शक्तिशाली गेमिङ स्मार्टफोन ! यस्ता छन् फिचर !

kharibot

भिभोले आफ्नो नयाँ स्मार्टफोन भिभो आइक्युओओ चीनमा लन्च गरेको छ । विशेषगरी गेमिङ फिचरलाई प्राथमिकता दिइएको यस फोनमा स्न्यापड्रयागन ८५५ प्रोसेसर प्रयोग गरिएको छ । यसको प्रमुख गेमिङ फिचरका रुपमा फोनको दायाँ र बायाँ भागमा प्रेसर सेन्सेटिभ बटनहरू रहेका छन् । यो फोन मार्च ६ मा चीनको बजारमा आउने बताइएको छ ।

त्यसैगरी यो फोन ६ जीबी, ८ जीबी र १२ जीबी र्यामका मोडलहरूमा उपलब्ध हुनेछ । ६ जीबी र ८ जीबी र्याम भएको मोडलमा १२८ जीबी स्टोरेज र १२ जीबी र्याम भएको मोडलमा २५६ जीबी स्टोरेज क्षमता रहेका छन् । ६.४१ इन्च डिस्प्ले भएको यसमा अन्डर डिस्प्ले फिंगरप्रिन्ट सेन्सर पनि रहेको छ । त्यस्तै यसको पछाडि भागमा सोनी आइएमएक्स ३६३ सेन्सर र वाइड एंगल लेन्स भएका दुईवटा १२ मेगापिक्सेलको क्यामेरा र डेप्थ सेन्सर भएको एउटा २ मेगापिक्सेलको क्यामेरा लेन्स रहेका छन् । यसको अगाडिपट्टि भने १२ मेगापिक्सेलको एउटा क्यामेरा रहेको छ । ४००० एमएएच ब्याट्री क्षमता रहेको यो फोनमा ४४ वाटको सुपरफ्लास चार्जिंग प्रविधि रहेको छ । कम्पनिले दावी गरेअनुसार यो प्रविधिले गर्दा फोन १५ मिनेटमा आधी र ४५ मिनेटमै पूरा चार्ज हुनेछ । यो फिचर भने ६ जीबी र्याम भएको मोडलमा उपलब्ध हुनेछैन ।

त्यसैगरी फोनमा सुपर लिक्विड कुलिंग टेक्नोलोजी र भेपर च्याम्बर रहेका छन् जसले गर्दा लामो समयसम्म फोनमा गेम खेल्दा पनि फोन नतात्ने कम्पनिले दावी गरेको छ । यसका साथै फोनमा एआइ टर्बो, सेन्टर टर्बो, नेट टर्बो, कुलिंग टर्बो र गेम टर्बोजस्ता मल्टी टर्बो गेमिङ फिचर रहेका छन्, जसले एपलाई ३० प्रतिशतले बुस्ट गर्ने बताइएको छ ।  

भिभोको यस गेमिङ स्मार्टफोनलाई कम्पनिको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली फोन मानिएको छ । ६ जीबी र्याम भएको मोडलको मूल्य ४५० डलर रहेको छ भने ८ जीबी र्याम भएको मोडलको ४९० डलर र १२ जीबी र्याम भएको मोडलको ६४० डलर रहेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै