• २०८१ बैशाख २० बिहीबार

शिशुमा जन्मजात हुन सक्छ हृदय रोग ! यस्ता छन् लक्षण 

kharibot

काठमाडौँ । नेपालमा शहरी क्षेत्रको तुलनामा दुर्गम तथा ग्रामीण भेगका बालबालिकामा मुटुरोगको समस्या धेरै देखिएको छ ।

विशेषतः ग्रामीण भेगमा गर्भवती महिलालाई विशेष ध्यान दिनुपर्छ भन्ने चेतनाको कमी रहेको पाइन्छ । महिला गर्भवती हुँदा उनीहरुको स्वास्थ्यको ख्याल नराख्ने, हेलचेक्र्याइँ गर्ने प्रवृत्ति अझै पनि नेपालका विकट क्षेत्रमा पाइन्छ । यसको असर गर्भस्थ शिशुमा परी धेरै बालबालिका हृदय रोगका शिकार भएका छन् । 

यो प्राणघातक रोग बालबालिकामा जन्मजात नै हुन सक्छ । गर्भावस्थामा मुटु र रक्तवाहिनी नसाको विकासमा समस्या आएमा यो रोग लाग्न सक्छ । भ्रूण अवस्थामा शरीर विकास हुने क्रममा मुटुमा संरचनात्मक अथवा कार्यात्मक समस्या आएमा शिशुलाई जन्मजात हृदयरोग लाग्न सक्छ । 

हृदयरोग गम्भीर अवस्थामा भए शिशु गर्भावस्थामा रहँदा नै अथवा जन्मेको केही क्षणमा नै थाहा भइहाल्छ । तर, केही अवस्थामा बालबालिका ठूला नभएसम्म यो रोगले उनीहरुलाई आक्रमण गरेको थाहा नहुन सक्छ । हृदयरोगी शिशुमा देखिन सक्ने लक्षण :

नीलो पन 

मुटुमा समस्या आएको छ भने नीलो रगत स्वच्छ रगतमा मिलेर शरीरभरि प्रवाहित हुन्छ । यस्तो अवस्थामा शरीरका विभिन्न अंग जस्तै, मुख, कान, नङ, ओठ आदि नीलो देखिन्छ । 

फोक्सोमा समस्या 

मुटुले सही ढंगले काम नगरे जन्मजात हृदयरोगबाट पीडित बालबालिकाको फोक्सोमा संक्रमण हुने सम्भावना रहन्छ । यस्ता बालबालिकालाई श्वासप्रश्वाससम्बन्धी समस्या हुन्छ । बालबालिकालाई सास फेर्न गाह्रो हुन्छ र यिनीहरु छिटोछिटो सास फेर्छन् । सास फेर्दा आवाज पनि निकाल्न सक्छन् । 

थकान महसूस 

मुटुको समस्या भएका बालबालिका शारीरिक गतिविधिको क्रममा छिटै थाक्छन् अथवा छिटोछिटो सास लिन्छन् । कतिपय अवस्थामा त यस्ता बालबालिका बेहोस पनि हुने गर्छन् । 

दूध पिउन गाह्रो 

हृदयरोगबाट पीडित शिशुले दूध पिउँदा उनीहरुलाई थकान महसूस हुन सक्छ । धेरै पसिना आउँछ र सास लिन पनि समस्या हुन्छ । यस्ता शिशुले दूध पिउँदा पीडा महसूस गरी रुन पनि सक्छन् । 

हातखुट्टा तथा आँखा सुन्निनु 

जन्मेपछि केही महिना शिशुको हातखुट्टा सुन्निनु साधारण मानिन्छ । चिसो लागेर सुन्निएको भनी तेल लगाई सेकताप गर्ने चलन हाम्रो समाजमा छ । तर, यो हृदयघातको लक्षण पनि हुन सक्छ । हृदयघातका रोगी शिशुको हातखुट्टा, पेट र आँखा प्रायः सुन्निने गर्छ भने यसले पीडा चाहिँ त्यति दिँदैन । 

मुटुमा प्वाल भएमा 

हृदयरोगसम्बन्धी खतरनाक समस्या हो मुटुमा प्वाल हुनु । बालबालिकाको मुटुमा प्वाल रहेछ भने यसले शिशुको ज्यानै समेत लिन सक्छ । त्यसैले यस विषयमा पनि विशेष सतर्कता अपनाउनु आवश्यक छ । मुटुमा प्वाल भए यस्तो प्वालले शुद्ध र अशुद्ध रगतलाई मिसाइदिन्छ र फोक्सोमा दबाब बढाउँछ । त्यस्तै, मुटुमा प्वाल भएमा यसले मुटुको आकार पनि बढाइदिन्छ । 

यसका लक्षण

स्तनपान गर्दा बच्चाले थकान महसुस गरी पसिना आउन सक्छ र शिशुले गाह्रो महसूस गरी रुन थाल्छन् । 

यस्ता शिशुको तौल छिटो बढ्दैन । उनीहरुलाई चिसोले छिटो आक्रमण गर्छ अथवा चिसोलाई उनीहरु सहन सक्दैनन् । 

शिशुको फोक्सोमा घरिघरि समस्या देखिन्छ । 

उपर्युक्त लक्षण देखिएमा शिशु जन्मेको ६ महिनाभित्र नै मुटुको शल्यक्रिया गर्नु ठीक हुन्छ । त्यसैले यस्ता लक्षण देखेपछि यथाशीघ्र चिकित्सकको सल्लाह लिनु ठीक हुन्छ  ।

मुटुमा प्वाल भएमा शल्यक्रिया 

शल्यक्रिया सामान्यतया शिशु जन्मेको केही हप्तादेखि केही महिनाभित्र नै गर्नु ठीक हुन्छ । शल्यक्रिया गर्दा छातीमा थोरै चिरेर प्वाललाई बन्द गर्ने क्रममा हर्टलङ मेसिन प्रयोग गरिन्छ । यसले रक्तसञ्चारमा समस्या आउन दिँदैन । त्यसपछि चिकित्सकले प्वाल बन्द गर्न मानवनिर्मित प्याचले मुटुमा सिल गरिदिन्छन् । कहिलेकाहिँ मुटुको माथिल्लो भागमा हुने झिल्लीले पनि प्वाल टाल्ने गरिन्छ । त्यसपछि शल्यक्रियाको करीब ६ महिनापछि प्वाल पूर्ण रुपमा बन्द हुन्छ । यस प्रकारको शल्यक्रियापछि शिशुको वृद्धि र विकास साधारण रुपमा नै हुन थाल्छ र उनीहरु अन्य शिशुसरह साधारण जीवन जिउन सक्छन् । 

शिशुमा हृदयरोगको समस्या भएनभएको थाहा भई आफ्ना बालबालिकाको समयमा नै उपचार गरी स्वस्थ बनाउन सकिन्छ । यस रोगबाट पीडित बालबालिका उपचारपछि अन्य बालबालिका जसरी नै स्वस्थ जीवन जिउन सक्छन् । उपचार नपाएमा अथवा हेलचेक्र्याइँ भएमा यसले ठूलो दुर्घटना निम्त्याउन सक्ने भएकाले समयमा नै सचेत हुनु आवश्यक छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै