• २०८१ बैशाख २३ आइतबार

नयाँ प्रचार शैलीमा फिल्म ‘बुलबुल’ को गीत सार्वजनिक 

kharibot

काठमाडौँ।  अभिनेत्री स्वस्तिमा खड्का टेम्पो ड्राइभरको भूमिकामा अभिनित फिल्म ‘बुलबुल’ ले नयाँ प्रचार शैलीमा ‘खुद्राखाद्री’ बोलको गीत सार्वजनिक गरेको छ । 'फ्ल्यास मोब' शैलीमा फिल्मको पहिलो गीत सार्वजनिक गरिएको हो । 

देशका प्रमुख पाँच शहरमा एकसाथ नृत्य गर्दै फिल्मको ‘खुद्राखाद्री’ बोलको गीत इन्टरनेट रिलिज गरिएको हो । बिहीवार दिउँसो ठिक ४ बजे पोखराको चिप्लेढुंगा चोक, बुटवलको ट्राफिक चोक, नारायणघाटको नारायणी किनार र बिर्तामोडको हनुमान कम्प्लेक्समा फिल्मको गीतमा स्वयंसेवी डान्सरले नृत्य गरेका थिए । 
 
काठमाडौंको सुन्धारास्थित काठमाडौं मलमा भने ४० बढी डान्सरसँग अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता मुकुन भुसालले एकसाथ नृत्य गरेका थिए । गीत बज्न थालेपछि मलको पिडीमा एक्कासी कलाकारहरु एकजुट भएर नाच्न थालेका थिए । उक्त गीतमा निश्चल बस्नेत र रजिना रिमालको स्वर छ । 

कोशिश क्षेत्रीको शब्द तथा संगीत रहेको गीतमा कविराज गहतराजको कोरियोग्राफी छ । भक्तपुरको हेलमेट डाँडामा पच्चीस वटा टेम्पो र सय जनाको कोरससहित ४ दिन लगाएर खिचिएको गीतमा १८ लाख खर्च भएको निर्माण पक्षले दाबी गरेको छ । अविरल थापा फिल्मका निर्माता हुन् । 
 
फिल्मका निर्देशक विनोद पौडेलले ‘बुलबुल’ ले अभिनेत्री स्वस्तिमाको अभिनयले धेरैलाई चकित तुल्याउने दाबी गर्दै आएका छन् भने उनी स्वयंले पनि यो फिल्म आफनो करियरकै कोशेढुंगा साबित हुने अभिव्यक्ति दिँदै आएकी छिन् ।  
 
फिल्ममा स्वस्तिमा र मुकुनका अलावा बुद्धि तामाङ, दिपक क्षेत्री, लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्जल अधिकारी, सृष्टि भट्टराईलगायतको अभिनय रहेको छ । फिल्म फागुन ३ मा रिलिज हुँदैछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै