• २०८१ जेठ ४ शुक्रबार

लगानीको जोहो र डिपीआर प्रतिवेदन नबन्दै निजगढमा रुख काट्न पाइदैन : सांसद विरोध खतिवडा

kharibot

काठमाडौँ। सत्ता पक्षका सांसद विरोध खतिवडाले चिनी प्रकरण, निजगढ विमानस्थल र निर्मला हत्या प्रकरणमा सरकारको कडा आलोचना गरेका छन्।

संसदको आजको बैठकको विशेष समयमा बोल्दै सांसद खतिवडाले चिनी माफियाको चंगुलमा सरकार फसेको भन्दै दशैँसम्म चिनी सय रुपैया किलो हुनसक्ने चिन्ता व्यक्त गरे।

उनले भने, ' उखु किसानको पैसा भुक्तानी गर्ने नाममा १५ प्रतिशत भन्सारलाई ३० प्रतिशत गरियो चिनी माफियाको नाममा।  ३० प्रतिशतले पुगेन भनेर पुरा चिनीको आयात नै रोकियो। प्रधानमन्त्री कार्यालयमा तामा तुलसी छोएर ५४ मा आएको चिनी ६४ भन्दा बढीमा बेच्दैनौ भनेर प्रतिज्ञा गरेर निस्किनुभयो। अहिले आज बिहान मेरो घर छेउको पसलमा ८५ रुपैयामा मैले आफै किने र उनीहरुले गर्वका साथ घोषणा गरेर हिडेका छन्, दशैँ तिहारसम्म सय रुपैया पुर्याउछौ भनेर। यो निरिहता कसको ? यो चिनीको चास्नीमा कुन कुन झिगा लटपटिएका छन् समयक्रममा थाहा होला ।'

निजगढ विमानस्थल बनाउन रुख कटान गर्ने सरकारको निर्णयको आलोचना गर्दै सांसद खतिवडाले लगानी गर्ने पैसाको जोहो र डिपीआर प्रतिवेदन नबनेसम्म रुख काटे सरकार हत्यारा हुने चेतावनी दिए। उनले लगानीको सम्झौता, डीपीआर प्रतिवेदन बनाए आफैले दुई महिनामा ती रुख त्याँहाबाट हटाइदिने समेत बताए। 

उनले भने,' निजगढ विमानस्थलको डिपिआर तयार भएको छैन, लागत कति आउछ थाहा छैन रन वे कति वटा बनाउने थाहा छैन, केहि पनि अहिले थाहा छैन, पैसा कति लाग्छ थाहा छैन, कति पैसा कसले दिन्छ त्यो पनि थाहा छैन। एउटा मेलम्ची बनाउन हामीले ८-१० वटा दाताबाट पैसा लिनु परेको थियो । अहिलेको यो विमानस्थल बनाउन कसले दिने ? केहि पनि टुंगो भएको छैन रुख चाहि काटी हाल्ने बेची हाल्ने ? अहिलेको आधुनिक युगमा सबैसँग सम्झौता गर्नुस् दुई महिनामा ति सग्ला रुख मैले हटाइदिन्छु। म खबरदारी गर्छु, सम्झौताको अन्तिम टुंगो र लगानीकर्ताको अन्तिम टुंगो नलागुन्जेल जसले ति रुखमा हात हाल्छ त्यो हत्यारा हुने छ ।'   

सांसद खतिवडाले निर्मला प्रकरणबारे बोल्दै सांसद खतिवडाले सरकारको कडा आलोचना गर्दै यस प्रकरणमा मुख देखाउन लाज भएको बताए।  

उनले भने,'हत्या, बलात्कार र ज्यान मार्ने जस्ता कुरामा पनि पहिलो आयोग बनाउने, प्रतिवेदन आएपछि बल्ल कारवाही हुन्छ भन्ने ? तलब खुवाएर राखिएको स्थायी संयन्त्र किन राखेको ? त्यसो हो भने स्थायी संयन्त्र खारेज गरौ घटना घटेपछि आयोग बनाउ अनि कारवाही गरौ। मुख देखाएर हिड्न लाज हुने स्थिति सिर्जना भयो।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै