• २०८१ जेठ १ मंगलबार

मुलुकी ऐनको विरोधमा पत्रकारहरु सडकमा 

kharibot

काठमाडौं। नेपाल पत्रकार महासंघले पत्रकारहरुलाई फौजदारी अभियोग लगाउने नयाँ मुलुकी ऐनको प्रावधान तत्काल हटाउन माग गर्दै सडक आन्दोलन पनि सुरु गरेको छ । 

पत्रकारहरुलाई फौजदारी अभियोग लगाउने प्रावधान हटाउन सञ्चार माध्यमबाट गरिएको आग्रह बेवास्ता गरेपछि महासंघले शुक्रबारबाट सडक आन्दोलन सुरु गरेको हो । शुक्रबार दिउँसो नयाँ बानेश्वरमा विरोध प्रर्दशन गर्दै पत्रकारहरुले आफूहरुलाई फौंजदारी अभियोग लगाउने प्रावधान हटाउन सरकार तयार नभएपछि बाध्य भएर सडक आन्दोलन सुरु गर्न बाध्य हुनुपरेको बताएका छन् । पत्रकारहरुले क्यामेरा, पेन, डायरीलगायतका सामग्री सडकमै राखेर विरोध प्रदर्शन गरेका थिए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले आफूहरुको माग सम्बोधन गर्न सरकार तयार नभएपछि सडक आन्दोलनमा आउन बाध्य हुनु परेको बताए । उनले तत्काल आफूहरुको माग अनुसार नयाँ मुलुकी ऐन संशोधन नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी पनि दिए ।

नेपाल पत्रकार महासंघले नयाँ मुलुकी ऐनका कतिपय प्रावधान प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोध रहेको, कतिपय प्रावधान पत्रकारहरुलाई अपराधीसरह कारबाही गर्ने ढंगले आएको भन्दै त्यसलाई सच्याउन माग गर्दै सरकार र सरोकारवाला निकायलाई ज्ञापन पत्र समेत बुझाई सकेको छ । 

अध्यक्ष आचार्यले अब पनि आफूहरुको माग सम्बोधन नभए सरकार विरुद्ध कडा आन्दोलनमा जाने गरी आउँदो सोमबार थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने जानकारी पनि दिए । आन्दोलनको थप कार्यक्रम तय गर्न आइतबार र सोमबार महासंघको कार्य समिति बैठक बोलाइएको छ । त्यही बैठकले आन्दोलनको थप कार्यक्रम तय गर्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै