• २०८१ बैशाख २१ शुक्रबार

प्रविधिमैत्री बन्दै रत्ननगर

kharibot

चितवन / रत्ननगर नगरपालिकावासीले अब घरमै बसीबसी नगरपालिकाका सेवा सुविधाबारे जानकारी लिन पाउने भएका छन् । उनीहरूले जनप्रतिनिधि र नगरपालिकाका शाखा प्रमुख कार्यालयमा छन्÷छैनन् भन्नेबारे पनि घरबाटै जानकारी पाउनका साथै उनीहरू कार्यालय आएपछि सेवाग्राहीले चाहेमा आफ्नो मोबाइलमा कार्यालयमा आएको सूचना समेत पाउनेछन् । 

नगरपालिकाकाले मोबाइल एप्स तयार पारेर आज सार्वजनिक गरेसँगै नगरवासीले यो सुविधा पाउने भएका हुन् । नगरपालिकाले तयार पारेको ‘रत्ननगर म्युनिसिपिलिटी’ नामक मोबाइल एप्स डनलोड गरेपछि उक्त एप्समार्फत नगरपालिकाको सम्पूर्ण विवरण घरमै बसीबसी हेर्न मिल्ने भएको हो । 

नगरपालिकाका प्रमुख नारायण वन नगरपालिकालाई प्रविधिमैत्री बनाउँदै लगेको जानकारी दिँदै भन्छन् , “हामीलाई खबरदारी गर्न पनि यो प्रविधि विकास गरिएको हो ।” प्रविधिलाई सिर्जनात्मक रूपमा लिइनुपर्ने चर्चा गर्दै उनी  भन्छन् , “राम्रा कामको प्रशंसा र गल्ती भएका कुरा सुधार गर्न सकारात्मक सुझावको अपेक्षा गर्दछौँ ।” 

नगरपालिकाले विकास गरेको एप्समा नगरपालिकाको संक्षिप्त विवरण, सम्पूर्ण वडाको नक्सा तथा स्थान, कर्मचारीको विवरण, सार्वजनिक यातायात र एम्बुलेन्स पत्ता लगाउन सकिने सुविधा छ । 

यसैगरी विकास निर्माण र नगरपालिकाका समस्या तथा गुनासो फोटो र भिडियोसहित उजुरी गर्न सकिने सुविधा पनि एप्समा छ । आफ्नो कोड नं राखी डिजिटल नक्सापासको फाइल कहाँ पुगेको छ भन्ने जानकारी लिन सकिने भएको छ । निकट भविष्यमा नै एप्समार्फत नै अनलाइन कर तिर्ने सुविधा पनि विकास गर्न लागिएको नगरपालिकाका सूचना प्रविधि अधिकृत रवि तिवारी बताउछन । 

नगरपालिकाले नगरसभामार्फत रु ४६ लाख बजेट विनियोजन गरेर सूचना प्रविधिका आधुनिक सेवाको प्रयोगलाई व्यापक बनाएकोे हो । नगर प्रमुख वन नगरपालिकालाई कागजरहित बनाउने कामको शुरुवात गरिएको बताउछन्  । उनका अनुसार सम्पूर्ण वडा कार्यालयलाई दैनिक इमेलमार्फत पत्राचार गर्न थालिएको छ । सबै वडामा उच्चगतिको फाइबर इन्टरनेट र भिल्यान प्रविधिमार्फत नगरपालिकामा जोड्ने काम अन्तिम चरणमा पुगेकाले सबै वडाबाट कर सङ्कलन गर्न सकिने भएको छ । 

नगरपालिकामा नक्सापास, व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षालाई अनलाइनमार्फत दर्ता गर्न शुरु गरिएको र सेवाग्राहीको कामलाई सहज बनाउन सर्भिस नेटवर्किङ पनि गरिएको छ । त्यसैगरी नगरपालिकाले सार्वजनिक यातायात र एम्बुलेन्सलाई जिपिएस प्रविधिमार्फत जोड्नने प्रविधि विकास गरेको छ । छिट्टै नै यो सेवा नियमित गर्ने नगर प्रमुख वन बताउछन् । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ढुङ्गाना ठेक्कापट्टालाई व्यवस्थित र पारदर्शी बनाउन अनलाइन सेवा शुरु गरिएको र नागरिक वडापत्रलाई डिजिटल गरिएको जानकारी दिन्छन । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै