काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरका १५ करोड थान सिक्का छपाइ, आपूर्ति तथा ढुवानीका लागि बोलपत्र आह्वान गरेको छ ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सूचनामार्फत पूर्वयोग्य सुरक्षा मुद्रण कम्पनीहरूबाट बोलपत्र माग गरेको हो ।
इच्छुक कम्पनीले आगामी पुस १४ गतेसम्म बोलपत्र पेस गर्न सक्नेछन् । बोलपत्र पुस १४ गते दिउँसो १ बजे खोलिनेछ । बोलपत्रसम्बन्धी कागजात खरिद गर्ने अन्तिम मिति भने पुस १३ गते तोकिएको छ ।
बोलपत्र पेस गर्दा कम्तीमा १ लाख २७ हजार अमेरिकी डलर बराबरको धरौटी राख्नुपर्नेछ । बोलपत्र १२० दिनसम्म मान्य रहने राष्ट्र बैंकले जनाएको छ ।
यसका लागि मङ्सिर २५ गते दिउँसो १२ बजे राष्ट्र बैंकको थापाथलीस्थित मुद्रा व्यवस्थापन विभागमा पूर्वबोलपत्र बैठकसमेत आयोजना गरिने सूचनामा उल्लेख छ ।









