• २०८३ मङ्सिर १२ शनिबार

‘झोले’ को ट्याग हटाउन रास्वपाले 'स्मार्ट डायरी' प्रयोग गर्ने

‘झोले’ को ट्याग हटाउन रास्वपाले 'स्मार्ट डायरी' प्रयोग गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका प्रशिक्षण, अधिवेशन तथा अन्य कार्यक्रममा वितरण हुँदै आएको झोलाको विकल्पमा फाइल तथा स्मार्ट डायरी प्रयोग गर्ने नयाँ अभ्यास सुरु गर्ने भएको छ ।

शनिबार कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै पार्टी सभापति रवि लामिछानेले राजनीतिक दलका कार्यकर्तालाई ‘झोले’ भनेर अपमानित गर्ने प्रवृत्तिको अन्त्य गर्न यस्तो अभियान सुरु गर्न लागेको बताएका छन् ।

उनले पार्टीको विचार, सिद्धान्त र नेतृत्वप्रति विश्वास गरेर राजनीतिमा लाग्ने व्यक्तिलाई ‘झोले’ भनेर चिनाउने प्रवृत्तिबाट रास्वपा बाहिर निस्कनुपर्ने बताए  । ‘आज यो प्रशिक्षण कार्यक्रमबाट कम्तीमा रास्वपालाई यो झोले युगबाट बाहिर निकाल्ने सोचेको छु मैले,’ लामिछानेले भने ।

उनका अनुसार अब पार्टीका प्रशिक्षण तथा अन्य कार्यक्रममा सहभागीलाई झोला वितरण गर्नुको सट्टा जनताका मुद्दा, गुनासा र सुझाव संकलन गर्न मिल्ने फाइल तथा स्मार्ट डायरी उपलब्ध गराइनेछ । उक्त फाइलमा आवश्यक कागजातसँगै ल्यापटप, आईप्याडलगायत सामग्रीसमेत राख्न सकिने उनले बताए ।

‘हामी झोला बोक्ने होइनौँ, हामी पछि लाग्ने होइनौँ, सँगै हिँड्ने हो। झोलालाई छोडेर अब यस्तो एक किसिमको स्मार्ट डायरी सुरुवात गरौँ,’ उनले भने ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै