काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले विपक्षी नेता गाडी आइजेनकोटलाई सत्ता साझेदारी गर्दै आलोपालो प्रधानमन्त्री बन्ने प्रस्ताव गर्ने तयारी गरेका छन् ।
इजरायली सञ्चारमाध्यमका अनुसार नेतान्याहुले नयाँ सरकार गठनको प्रयास रोक्न आइजेनकोटलाई आफू दोस्रो कार्यकालमा प्रधानमन्त्री बन्ने गरी आलोपालो नेतृत्वको प्रस्ताव गर्न सक्ने सम्भावना रहेको इजरायली मिडिया टाइम्स अफ इजरायलले उल्लेख गरेको छ । नेतान्याहुको दलभित्रै यस विषयमा मतभेद रहेको बताइएको छ । अनौपचारिक माध्यमबाट प्रस्ताव आइजेनकोटसम्म पुगिसकेको खबर पनि सार्वजनिक भएको छ ।
तर आइजेनकोट नेतान्याहुको प्रस्तावप्रति विश्वस्त छैनन् । उनले आगामी डिसेम्बर ६ मा सरकार गठनको समयसीमा सकिनुअघि नै नयाँ सरकार गठन गर्ने तयारी गरिरहेका छन् । उनका अनुसार नेतान्याहुसँगको दुई साताको वार्तामा पर्याप्त प्रगति हुन सकेको छैन ।
इजरायल बेतेनु पार्टीका नेता अविग्दोर लिबरम्यानले नेतान्याहुको आलोपालो प्रधानमन्त्रीको प्रस्ताव नयाँ सरकार गठन रोक्ने राजनीतिक चाल मात्र हुन सक्ने चेतावनी दिएका छन् । उनले नेतान्याहु अन्ततः मध्यावधि निर्वाचन गराउने रणनीतिमा रहेको आरोप लगाएका छन् ।
आइजेनकोटले भने नयाँ सरकार गठनका लागि विभिन्न दलसँग छलफल गरिरहेका छन् । उनको गठबन्धनमा यार गोलान र लिबरम्यानको दलले समर्थन जनाएका छन् । तर गठबन्धनसँग संसद्मा ४८ सिट मात्र रहेकाले बहुमतका लागि आवश्यक ६१ सिट जुटाउन चुनौती छ ।
बहुमत पुर्याउन आइजेनकोटले अरब नेतृत्वका दल वा अति अर्थोडक्स यहुदी दलहरूको समर्थन लिनुपर्ने अवस्था छ । यसैबीच, नफ्ताली बेनेटको दलसँग पनि सरकार गठनका विषयमा छलफल भइरहेको छ । सैनिक सेवामा अति अर्थोडक्स समुदायलाई दिइँदै आएको छुट अन्त्य गर्ने विषयमा दलहरूबीच मतभेद देखिएको छ ।
आइजेनकोटले नेतान्याहुको दलसँगको वार्तामा हमासको सन् २०२३ अक्टोबर ७ को आक्रमणसम्बन्धी घटनाको छानबिन, सरकारबाट विवादित नेताहरू हटाउने र सबै नागरिकका लागि अनिवार्य सैनिक वा राष्ट्रिय सेवा लागू गर्ने विषयमा सहमति हुन नसकेको बताएका छन् । उनले गम्भीर वार्ता र सम्झौताको सम्भावना भने अझै खुला रहेको बताएका छन् ।









