काठमाडौं । विपद्मा परी बेपत्ता भएका व्यक्तिका परिवारलाई मृतकसरह राहत उपलब्ध गराउन सरकारले ५० करोड १ लाख रुपैयाँ निकासा गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले केन्द्रीय विपद् व्यवस्थापन कोषबाट उक्त रकम जिल्ला विपद् व्यवस्थापन कोषमा पठाएको हो ।
रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, डडेल्धुरा, जुम्ला, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र कञ्चनपुरका जिल्ला विपद् व्यवस्थापन समितिको मागअनुसार रकम निकासा गरिएको प्राधिकरणले जनाएको छ । अन्य जिल्लामा पनि मागका आधारमा रकम पठाउने तयारी भइरहेको छ ।
यसअघि रसुवा–भोटेकोशी बाढी, गोरखा–बुढीगण्डकी बाढी र कालीगण्डकी बाढीबाट प्रभावित तथा विपद् संकटग्रस्त क्षेत्र घोषित ४१ स्थानीय तहका लागि २४ करोड ५० लाख रुपैयाँ निकासा भइसकेको छ ।
त्यस्तै, रसुवा, नुवाकोट र धादिङका १२ स्थानीय तहका विपद् प्रभावित परिवारलाई १० वटा विकास साझेदार संघसंस्थाले बहुउद्देश्यीय नगद सहायतास्वरूप २९ करोड ६१ लाख ७५ हजार रुपैयाँ वितरण गरिसकेका छन् ।
प्राधिकरणले बेपत्ता व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने प्रक्रिया अघि बढाउन जिल्ला विपद् व्यवस्थापन कोषमा रकम पठाएको जनाएको छ ।









