• २०८३ मङ्सिर १२ शनिबार

अस्ट्रेलियाको पर्यटक भिसामा नयाँ नियम लागू

अस्ट्रेलियाको पर्यटक भिसामा नयाँ नियम लागू

काठमाडौं । अस्ट्रेलियाले पर्यटक भिसासम्बन्धी नियम परिवर्तन गरेको छ । शनिबारदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार पर्यटक भिसामा अस्ट्रेलिया पुग्ने विदेशी नागरिकले त्यहाँ बसेर अर्को भिसाका लागि आवेदन दिन नपाउने भएका छन् ।

अस्ट्रेलियाको गृह मन्त्रालयले पर्यटक भिसाको दुरुपयोग गरी लामो समय बस्ने प्रवृत्ति रोक्ने उद्देश्यले नयाँ व्यवस्था लागू गरेको हो । अब पर्यटक भिसामा अस्ट्रेलिया जान चाहनेले भ्रमणको उद्देश्य र बसाइ अवधि स्पष्ट पार्नुपर्नेछ ।

नयाँ नियमअनुसार पर्यटक भिसा, विद्युतीय यात्रा अनुमति र विद्युतीय आगन्तुक भिसाका लागि नोभेम्बर २८ वा त्यसपछि आवेदन दिने व्यक्तिको भिसामा थप बस्न नपाइने सर्त अनिवार्य रूपमा राखिनेछ । यसले पर्यटक भिसामा अस्ट्रेलिया पुगेपछि विद्यार्थी, कामदार वा अन्य भिसामा परिवर्तन गर्ने बाटो बन्द गर्नेछ । अर्को भिसाका लागि आवेदन दिन चाहनेले अस्ट्रेलिया छाडेर बाहिरबाट प्रक्रिया अघि बढाउनुपर्नेछ ।

यसअघि पर्यटक भिसामा थप बस्न नपाइने सर्त नराखिएको अवस्थामा अस्ट्रेलियाभित्रैबाट अर्को भिसाका लागि आवेदन दिन सकिने व्यवस्था थियो । सामान्यतया पर्यटक भिसामा तीन महिनासम्म बस्न पाइने भए पनि विशेष अवस्थामा ६ देखि १२ महिनासम्मको अनुमति दिने गरिएको थियो । कति समय बस्न पाउने भन्ने निर्णय अध्यागमन अधिकारीले गर्नेछन् ।

नयाँ व्यवस्थाले भिसाको अवधि भने स्वतः घटाउने छैन । भिसामा उल्लेख गरिएको अवधिसम्म अस्ट्रेलियामा बस्न पाइनेछ । त्यस्तै, पर्यटक भिसामा तीन महिनासम्म अध्ययन गर्न सकिने भए पनि रोजगारी गर्न भने अनुमति छैन । फर्किने टिकट अनिवार्य नभए पनि स्वदेश फर्कन पर्याप्त आर्थिक स्रोत भएको प्रमाण देखाउनुपर्ने व्यवस्था छ ।

अस्ट्रेलियाको पर्यटक भिसा शुल्क करिब २४ हजार नेपाली रुपैयाँ पर्छ । त्यस्तै, विद्यार्थी भिसाको शुल्क करिब २ लाख ४० हजार नेपाली रुपैयाँ रहेको छ । वास्तविक शुल्क आवेदनको प्रकार र अन्य सेवाअनुसार फरक पर्न सक्छ ।

यसैबीच, अक्टोबर २६ देखि भारतमा अस्ट्रेलियाली भिसा आवेदन प्रक्रियाअन्तर्गत जैविक पहिचान जाँचको दायरा पनि विस्तार गरिएको छ । नयाँ नियमसँगै पर्यटक भिसामा अस्ट्रेलिया जाने नेपालीले पनि आफ्नो भ्रमणको उद्देश्य, बसाइ अवधि र आर्थिक अवस्थाबारे स्पष्ट विवरणसहित आवेदन दिनुपर्नेछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै