• २०८३ मङ्सिर १० बिहीबार

होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउने निर्णय फिर्ता लिन कांग्रेसको माग

होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउने निर्णय फिर्ता लिन कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी परिवारलाई समेत हटाउने सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको हो ।

बैठकपछि सार्वजनिक निर्णयमा सरकारले सुकुम्बासीका घर भत्काएर व्यवस्थापन र लालपुर्जाको आश्वासन दिएको तर महिनौँसम्म अनिश्चिततामा राखेर अहिले अस्थायी आश्रयबाट समेत हटाउन खोजेको उल्लेख छ । यस्तो निर्णय संविधानप्रदत्त आवासको हक, प्रचलित कानुन र सामाजिक न्यायको मर्मविपरीत रहेको कांग्रेसको ठहर छ ।

कांग्रेसले घरबारविहीन नागरिकलाई आश्रय दिनु राज्यको दायित्व भएको भन्दै विस्थापित परिवारको सुरक्षित, सम्मानजनक र दिगो पुनर्वास सुनिश्चित गर्न माग गरेको छ । भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या दमन र विस्थापनबाट नभई न्यायपूर्ण, मानवीय र दीर्घकालीन समाधानबाट सम्बोधन गर्नुपर्ने कांग्रेसको भनाइ छ ।

यसैबीच, होल्डिङ सेन्टरको समन्वय र सहजीकरणका लागि केन्द्रीय सदस्य केशव निरौलाको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिमा केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ र प्रबल थापा सदस्य रहेका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंसिर ८ गतेदेखि सुरु भएको हो । बैठकमा हालसम्म ७० जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन् । धारणा राख्ने क्रम जारी रहेकाले बैठक मंसिर ११ गते शुक्रबार बिहान ८: ३० बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्ने निर्णय गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै