काठमाडौं । आज संघीय संसदका पाँच समितिका बैठक बस्दैछ ।
आज प्रतिनिधि सभाका अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र सार्वजनिक लेखा समितिको बैठक बस्दैछ । त्यस्तै आज राष्ट्रिय सभाका संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, विधायन व्यवस्थापन समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ ।
आज बिहान ९ बजेदेखि शुरु हुने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल वायुसेवा निगमको अवस्था र चुनौती सम्बन्धमा छलफलको कार्यसूची रहेको छ । त्यस्तै बिहान ९ बजेदेखि नै शुरु हुने सार्वजनिक लेखा समितिको बैठकमा बेरुजु छलफल उपसमितिको कार्यप्रगति र स्थलगत निरीक्षण सम्बन्धमा छलफलको कार्यसुची रहेको समितिले जानकारी दिएको छ ।
त्यसैगरी बिहान ११ बजेदेखि शुरु हुने राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र कर्णाली प्रदेश सभाको अर्थ तथा प्राकृतिक स्रोत समितिबीच समन्वयको विषयमा छलफलको कार्यसूची रहेको समितिले जनाएको छ ।
त्यस्तै, बिहान ११ बजेदेखि शुरु हुने विधायन व्यवस्थापन समितिको बैठकमा आर्थिक बर्ष २०८२/०८३ को विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफलको कार्यसूची रहेको छ । त्यसैगरी, आज बिहान १०: ३० बजेदेखि शुरु हुने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा दैनिक उपभोग्य बस्तुहरुको सहज आपूर्ति व्यवस्थापन र अनुगमन लगायतका विषयमा छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।









