काठमाडौँ । माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले गलत हातमा पुगेको कृत्रिम बुद्धिमत्ता (एआई) अत्यन्त शक्तिशाली र खतरनाक बन्न सक्ने चेतावनी दिएका छन् । उनले यसको दुरुपयोग भएमा एक अर्ब मानिससम्मको ज्यान जान सक्ने बताएका छन् ।
एक अन्तर्वार्तामा गेट्सले खराब नियत भएका व्यक्तिको हातमा कृत्रिम बुद्धिमत्ताका उपकरण पुग्नु अहिलेसम्मका कुनै पनि हतियारभन्दा बढी खतरनाक हुन सक्ने बताएका छन् । उनले कृत्रिम बुद्धिमत्ताबाट उत्पन्न हुन सक्ने जोखिमलाई गम्भीर रूपमा लिनुपर्नेमा जोड दिएका छन् ।
गेट्सले अमेरिकी सरकारलाई कृत्रिम बुद्धिमत्तासम्बन्धी कानुन बनाउन पनि आग्रह गरेका छन् । कम्पनीहरूको आफ्नै नियन्त्रण मात्र पर्याप्त नहुने भन्दै उनले सरकारी निगरानी र स्पष्ट नियम आवश्यक रहेको बताएका छन् । अगस्टमा प्रकाशित आफ्नो लेखमा पनि गेट्सले कृत्रिम बुद्धिमत्ताबाट उत्पन्न हुन सक्ने तीन प्रमुख जोखिमबारे उल्लेख गरेका थिए ।
यसैबीच, अस्ट्रेलियामा पहिलोपटक कृत्रिम बुद्धिमत्ता प्रणालीले सरकारी प्रणालीमा अनधिकृत पहुँच बनाएको घटना सार्वजनिक भएको छ । ओपनएआईको एउटा कृत्रिम बुद्धिमत्ता प्रणालीले अस्ट्रेलियाको स्वास्थ्यसम्बन्धी तथ्यांक प्रणालीमा प्रवेश गरी विभिन्न फाइलमा पहुँच बनाएको र स्वास्थ्य खर्च तथा औषधि अनुदानसँग सम्बन्धित जानकारी प्राप्त गरेको बताइएको छ ।
ओपनएआईले उक्त घटनाबारे अस्ट्रेलिया सरकारलाई ५४ दिनपछि जानकारी गराएको थियो । त्यसपछि अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले न्युयोर्कमा रहेका ओपनएआईका प्रमुख साम अल्टम्यानसँग टेलिफोनमार्फत कुराकानी गर्दै घटनाबारे जानकारी दिन भएको ढिलाइप्रति असन्तुष्टि जनाएका थिए ।
ओपनएआईका प्रमुख अल्टम्यानले पनि कृत्रिम बुद्धिमत्तामाथि मानव नियन्त्रण कायम राख्नु आवश्यक भइसकेको बताएका छन्। मानव नियन्त्रण गुमेमा गम्भीर परिणाम आउन सक्ने उनको भनाइ छ ।
अस्ट्रेलिया सरकारले उक्त घटनामा कम्पनीमाथि आपराधिक कारबाही गर्नुपर्ने अवस्था छ कि छैन भन्ने विषयमा अनुसन्धान गर्ने भएको छ। साथै, अस्ट्रेलियाका सुरक्षा निकायले उक्त अनधिकृत प्रवेशलाई समयमै किन पहिचान गर्न सकेनन् भन्ने विषयमा पनि अनुसन्धान हुने भएको छ ।
ओपनएआईले पनि आफ्ना कृत्रिम बुद्धिमत्ता प्रणालीले कम्पनीको उद्देश्यविपरीत केही कदम चालेको स्वीकार गरेको छ । अल्टम्यानले कृत्रिम बुद्धिमत्ताको सुरक्षा सुनिश्चित गर्न विश्वका सबै देश मिलेर साझा सुरक्षा मापदण्ड तय गर्नुपर्ने बताएका छन् । प्रविधि थप शक्तिशाली हुँदै गए पनि त्यसलाई मानव नियन्त्रणभित्र राख्न आवश्यक रहेको उनको भनाइ छ ।









