काठमाडौं । बेनी हाइड्रोपावरको सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपीओ) भोली बाँडफाँड हुने भएको छ ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटल लिमिटेडका अनुसार भोली बिहान ९ बजे बाँडफाँड हुने भएको हो ।
कम्पनीले गत भदौ २२ गतेदेखि २५ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ८ लाख ६३ हजार २ सय कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो । जसमा २३ लाख ६१ हजार १२४ आवेदन परेका छन् । जसमध्ये ८६ हजार ३२० जना लगानीकर्ताले १०-१० कित्ताको दरले आइपीओ पाउने छन् ।
कम्पनीको जारी पुँजी १ अर्ब ४ करोड रुपैयाँ रहेको छ । यसको २० प्रतिशत अर्थात् २० लाख ८० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । त्यसमध्ये १० लाख ४० हजार कित्ता सेयर आयोजना प्रभावित सोलुखुम्बु जिल्लाका स्थानीय बासिन्दाका लागि यसअघि नै छुट्याइएको थियो । सर्वसाधारणका लागि छुट्याइएको १० लाख ४० हजार कित्तामध्ये १ लाख ४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, २० हजार ८ सय कित्ता कम्पनीका कर्मचारीका लागि र ५२ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि शेयर बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका बाँकी ८ लाख ६३ हजार २ सय कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।
यसैबीच, इक्रा नेपालले बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको जारीकर्ता मूल्यांकनलाई ‘आईसीआरएएनपी-आईआर बीबी’ बाट बढाएर ‘आईसीआरएएनपी-आईआर बीबी प्लस’ कायम गरेको छ । यसको अर्थ वित्तीय दायित्व समयमै पूरा गर्ने क्रममा कम्पनीमा मध्यम स्तरको जोखिम रहेको भन्ने हो ।
सन् २०१६ मा स्थापना भएको बेनी हाइड्रोपावरले सोलुखुम्बु जिल्लाको बेनी तथा सल्लेरी क्षेत्रमा १८ मेगावाट क्षमताको माथिल्लो सोलुखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।









