गोरखा । मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले सामागाउँमा जलवायु परिवर्तन तथा हिमताल जोखिमलगायत विषय उठाउँदै अनशनमा बसेकाहरूलाई अनशन फिर्ता लिन आग्रह गरेको छ ।
आयोजनाले असोज २ गतेदेखि सामागाउँमा सुरु गरिएको अनशन र प्राप्त ज्ञापनपत्रप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । हिमताल विस्फोटको जोखिम, खानेपानी तथा सिँचाइका स्रोतमा पर्ने असर, हिमनदी र सीमापारि बग्ने नदीको अवस्था, विद्यालयमा जलवायु शिक्षा, अन्तर्राष्ट्रिय जलवायु न्याय तथा क्षतिपूर्तिको माग र पर्वतारोहणसम्बन्धी नियमनजस्ता विषय गम्भीर र सान्दर्भिक रहेको आयोजनाले जनाएको छ ।
आयोजनाले अनशन सुरु भएदेखि नै अनशनकारीसँग निरन्तर संवादमा रहेको र सम्बन्धित निकायसँग समन्वय तथा पहल गरिरहेको बताएको छ । हिमताल जोखिम, जलस्रोत सुरक्षा र पूर्वसूचना प्रणालीलगायत विषयमा दीर्घकालीन कार्यक्रम बनाउन सम्बन्धित निकायसँग समन्वय गर्ने प्रतिबद्धता जनाउँदै आयोजनाले अनशन फिर्ता लिन आग्रह गरेको हो ।
आयोजनाले अनशनकारीको स्वास्थ्य र सुरक्षाप्रति संवेदनशील रहेको जनाउँदै स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहबाट समाधान गर्नुपर्ने विषयमा सहकार्य र साझा पहल गर्ने प्रतिबद्धता पनि जनाएको छ । साथै, हिमाली समुदाय र हिमालको संरक्षणका लागि सँगसँगै काम गर्ने प्रतिबद्धता दोहोर्याएको छ ।
हिमाली गाउँबस्ती भन्दा माथि धेरै नयाँ तालहरु थपिँदै गएको, हरिया तालहरु थपिदै गएको, वीरेन्द्रताल लगायत हिमतालहरुमा पानीको सतह बढिरहेकाले यसको निरन्तर नापजाँच गर्ने प्रविधि जडान गर्नुपर्ने, हिमाली क्षेत्रका विद्यालयहरूमा जलवायू परिवर्तन र यसबाट बच्ने उपायहरु समेटिएको पाठ्यक्रम बनाएर पठनपाठन गर्नुपर्नेलगायतका माग राख्दै ११ युवाहरु गोरखाको सामागाउँमा अनसनमा बसेका छन् । सामागाउँका ३६ वर्षीय दावानोर्वु लामा,३९ वर्षीय निमा छिरिङ लामा, २५ वर्षीय लेक्ष्य लामा, २७ वर्षीय पासाङ नोर्बु लामा, २६ वर्षीय छिरिङ फुञ्सोक लामा, २९ वर्षीय टासी डुण्डुप लामा, २८ वर्षीय छेवाङ घ्यूर्मे लामा, २३ वर्षीय छेवाङ बाबा लामा, २८ वर्षीय कर्मा छिरिङ लामा, २९ वर्षीय पेम्बा छिरिङ लामा र वडा नं ७ का ३१ वर्षीय पेम्बा गुरुङ आमरण अनसन बसेका हुन् ।









