• २०८३ भदौ २४ बुधबार

बालोन डी’ओरका लागि ३० खेलाडीको मनोनयन, को को परे ?

बालोन डी’ओरका लागि ३० खेलाडीको मनोनयन, को को परे ?

काठमाडौँ । यस वर्षको पुरुषतर्फको बालोन डी’ओर पुरस्कारका लागि ३० खेलाडीको मनोनयन सार्वजनिक भएको छ । बायर्न म्युनिख तथा इंग्ल्यान्डका स्ट्राइकर ह्यारी केन  प्रतिष्ठित पुरस्कारका प्रमुख दाबेदारका रूपमा रहेका छन् ।

केनले गत सिजन क्लब र देशका लागि उत्कृष्ट प्रदर्शन गर्दै ७३ गोल गरेका थिए । यो उनको करियरकै उत्कृष्ट सिजनमध्ये एक मानिएको छ । सन् २००१ मा माइकल ओवेनपछि बालोन डी’ओर जित्ने पहिलो इंग्लिस खेलाडी बन्ने अवसर केनसामु रहेको छ ।

केनसँगै इंग्ल्यान्डका जुड बेलिङ्घम र डेक्लान राइस पनि मनोनयनमा परेका छन् । म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेसले गत सिजन प्रिमियर लिगमा २१ गोलका लागि अवसर सिर्जना गर्दै सहायताको कीर्तिमान बनाएका कारण उनी पनि दाबेदार बनेका छन् । त्यस्तै, आर्सनलका गाब्रिएल र म्यानचेस्टर सिटीका एर्लिङ हालान्ड पनि मनोनयनमा छन् ।

त्यसैगरी लामिन यामाल, लियोनल मेसी र किलियन एम्बाप्पे पनि प्रमुख दाबेदारमध्ये रहेका छन् । आर्सनलले २२ वर्षपछि प्रिमियर लिग उपाधि जितेपछि वर्षको उत्कृष्ट टोलीको पुरस्कारका लागि पनि मनोनयन पाएको छ । आर्सनलका प्रशिक्षक मिकेल आर्टेटा र एस्टन भिल्लाका उनाइ एमरी वर्षको उत्कृष्ट प्रशिक्षकको पुरस्कारका लागि मनोनयनमा परेका छन् । आर्सनलका गोलरक्षक डेभिड रायाले उत्कृष्ट गोलरक्षकको पुरस्कारका लागि प्रतिस्पर्धा गर्नेछन् ।

पुरुषतर्फ बालोन डी’ओरका ३० मनोनीत खेलाडी :

जुड बेलिङ्घम, पाउ कुबार्सी, मार्क कुकुरेला, उस्मान डेम्बेले, लुइस डियाज, ब्रुनो फर्नान्डेस, गाब्रिएल, एर्लिङ हालान्ड, अचरफ हाकिमी, ह्यारी केन, ख्भिचा क्वारात्स्खेलिया, लामिन यामाल, साडियो माने, मार्किन्होस, लाउटारो मार्टिनेज, किलियन एम्बाप्पे, नुनो मेन्डेस, लियोनल मेसी, जोआओ नेभेस, माइकल ओलिसे, विलियन पाचो, जुलियन क्विनोनेस, डेक्लान राइस, रोड्री, फाबियान रुइज, विलियम सालिबा, फेरान टोरेस, दायोट उपामेकानो, भिनिसियस जुनियर र भिटिन्हा रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै