• २०८३ श्रावण ४ सोमबार

न्युयोर्क आए नेतन्याहूलाई पक्राउ गर्ने मेयर ममदानीको चेतावनी

न्युयोर्क आए नेतन्याहूलाई पक्राउ गर्ने मेयर ममदानीको चेतावनी

काठमाडौँ । न्युयोर्कका मेयर जोहरान ममदानीले आगामी सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क आउने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई पक्राउ गर्ने कानुनी सम्भावनाबारे अध्ययन भइरहेको बताएका छन् ।

उनले यस विषयमा सहरको कानुनी विभागसँग छलफल भइरहेको उल्लेख गर्दै कानुनले अनुमति दिएअनुसार नै आफूले निर्णय गर्ने बताएका छन् । ममदानीले नेतन्याहूको स्थान नेदरल्यान्ड्सको हेगमा रहेको अन्तर्राष्ट्रिय अदालतमा हुनुपर्ने आफ्नो धारणा पनि दोहोर्याएका छन् ।

अन्तर्राष्ट्रिय अपराध अदालतले सन् २०२४ नोभेम्बरमा गाजामा कथित युद्ध अपराध र मानवताविरुद्धको अपराधको आरोपमा नेतन्याहूविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

न्युयोर्क टाइम्सको एक अन्तर्वार्तामा ममदानीले नेतन्याहू युद्ध अपराधको आरोप खेपिरहेका व्यक्ति भएको र धेरै मानिसको धारणा पनि त्यही रहेको बताएका छन् ।

यता, संयुक्त राष्ट्रसंघका लागि इजरायलका राजदूत ड्यानी डाननले ममदानीमाथि यहुदी समुदायविरुद्धको वातावरण सिर्जना गरेको आरोप लगाएका छन् । उनले ममदानीले बढ्दो यहुदीविरोधी गतिविधिको सामना गर्नुको सट्टा इजरायलविरुद्ध माहोल बनाइरहेको टिप्पणी गरेका छन् ।

डाननले नेतन्याहूले सेप्टेम्बर २२ देखि २८ सम्म हुने संयुक्त राष्ट्रसंघको महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने पुष्टि गर्दै मेयरको अभिव्यक्तिले त्यसमा कुनै प्रभाव नपर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत नेतन्याहू होइन, बरु न्युयोर्कका मेयर ममदानी नै पक्राउ पर्नुपर्ने व्यक्ति भएको टिप्पणी गरेका छन् ।

यसअघि एक रेडियो अन्तर्वार्तामा नेतन्याहूले आफूलाई पक्राउ गर्ने धम्कीको कुनै चिन्ता नरहेको बताएका थिए । उनले ममदानीमाथि हमासको समर्थन गर्ने र अमेरिकाविरोधी सोच राखेको आरोप समेत लगाएका थिए ।

अमेरिका र इजरायल दुवै अन्तर्राष्ट्रिय अपराध अदालतका सदस्य राष्ट्र होइनन् । अमेरिकी संघीय कानुनले राज्य तथा स्थानीय प्रशासनलाई अन्तर्राष्ट्रिय अपराध अदालतका अनुरोध कार्यान्वयनमा सहयोग गर्न रोक लगाएको छ। गत वर्ष न्युयोर्ककी गभर्नर क्याथी होचुलले पनि मेयरसँग नेतन्याहूलाई पक्राउ गर्ने अधिकार नभएको बताएकी थिइन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै