काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतका चारवटा संसदीय समितिको बैठक आज बस्दैछ । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा बस्ने बैठकमा विभिन्न विधेयकमाथि छलफल हुने कार्यसूची तय गरिएको छ ।
सोमबार बिहान १० बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्नेछ । बैठकमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि संशोधन प्रस्ताव दर्ता गर्ने सदस्यसहित दफावार छलफल हुनेछ ।
यस्तै, आज बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्नेछ । समितिको बैठकमा चलचित्र विधेयक, २०८१ माथि छलफल गर्ने कार्यसूची रहेको छ। बैठकमा सूचना तथा सञ्चारमन्त्री, मन्त्रालयका सचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव र चलचित्र विकास बोर्डका अध्यक्षलाई आमन्त्रण गरिएको छ ।
त्यसैगरी, प्रतिनिधिसभाको अर्थ समितिको बैठक पनि आज बिहान ११ बजे बस्नेछ। बैठकमा अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल गरिनेछ। साथै, विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्ने सांसदहरूसँग पनि छलफल हुने कार्यसूची छ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक पनि आज बिहान ११ बजे नै बस्नेछ । बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विज्ञहरूसँग छलफल गरिनेछ। उक्त बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, मन्त्रालयका सचिव तथा सम्बन्धित विज्ञहरूलाई आमन्त्रण गरिएको छ ।
चारवटै समितिका बैठक सिंहदरबारस्थित समितिका आ–आफ्नै बैठक कक्षमा बस्ने जानकारी दिएका छन् ।









