• २०८१ बैशाख २२ शनिबार

प्रदिप खड्काको फिल्म 'रोजी' को नाम परिवर्तन

kharibot

काठमाडौँ।  प्रदीप खड्काको प्रमुख भूमिका रहेको फिल्म ‘रोजी’ को नाम परिवर्तन भएको छ । भाद्र २२ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मको नाम ‘रोज’ राखिएको छ ।
 
गोबिन्द महर्जन र उनकी श्रीमती नानीमैया महर्जनले आफ्नो मृतक छोरी रोजी महर्जनको हत्या घटनासँग फिल्म ‘रोजी’ को कथा र परिवेश मिलेको भन्दै पटक-पटक सो नाम नराख्न दबाव दिएपछि निर्माण पक्षले नाम परिवर्तन गरेको हो ।

२०६८ सालमा ललितपुरकी रोजी महर्जनलाई उनकै प्रेमी सुबास उप्रेतीको योजनामा राजु लोहारले गोली हानी हत्या गरेका थिए । बिहिबार चलचित्र विकास बोर्डमा भएको बैठकमा निर्माण टिम ‘रोजी’ नाम हटाएर रोज राख्न तयार भएको हो ।

वार्तामा निर्माता तथा निर्देशक नीरक पौडेल, निर्माता मणिकरण केसी र मृतक रोजी महर्जनको परिवारबाट गोबिन्द महर्जन एवम नानीमैया महर्जन उपस्थित थिए । महर्जन परिवारले फिल्म निर्माणको सुरुदेखि ‘रोजी’ नाम नराख्न दबाब दिँदै आएका थिए ।

दुई पक्षीय वार्तामा अब निर्माण पक्षले फिल्मको नाम ‘रोजी’ नराख्ने, सत्य घटनामा आधारित रहेको भन्ने उल्लेख नगर्ने सम्झौता भएको छ । यस्तै महर्जन परिवारले पनि आगामी २२ भदौमा प्रदर्शनमा आउने यो फिल्मलाई कुनै पनि प्रकारको बाधा नपुर्‍याउने सम्झौता भएको छ ।

महर्जन परिवारले चलचित्र विकास बोर्डमा उजुरी दिएपछि यो फिल्मको केही समय छायांकन समेत रोकिएको थियो । निर्देशक पौडेलले महर्जन परिवारलाई नाममा चित्त नबुझेमा परिवर्तन गरिदिने बताएपछि अबरोध भएको छायांकन सुचारु भएको थियो ।

गोपिकृष्ण मूभिजको व्यानरमा निर्मित यो फिल्ममा अभिनेता प्रदीप खड्का, परमिता राणा, मिरुना मगर, कर्मा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै