काठमाडौँ । आज जुलाई ७ मा विश्वभर विश्व चकलेट दिवस मनाइँदैछ । चकलेटप्रेमीहरूका लागि यो दिन आफूलाई मनपर्ने चकलेटका परिकारको स्वाद लिँदै यसको इतिहास, उत्पादन प्रक्रिया र स्वास्थ्य लाभबारे जानकारी फैलाउने अवसरका रूपमा मनाइन्छ ।
यस अवसरमा चकलेटबाट बनेका विभिन्न परिकार, जस्तै चकलेट केक, ब्राउनी, चकलेट पेय, चकलेट मिठाई तथा अन्य चकलेटजन्य खानेकुराको विशेष चर्चा हुने गर्दछ ।
उष्णकटिबन्धीय क्षेत्रमा पाइने थियोब्रोमा काकाओ नामक रूखको बिउबाट शुरुमा चकलेट तयार गरिएको पाइन्छ । काकाओको खेती कम्तीमा तीन हजार वर्षअघि देखि मेक्सिको, मध्य अमेरिका र दक्षिण अमेरिकाको उत्तरी क्षेत्रमा हुँदै आएको मानिन्छ । काकाओको प्रयोग भएको सबैभन्दा पुरानो प्रमाण करिब ईसा पूर्व ११०० को भेटिएको छ । काकाओको बिउ प्राकृतिक रूपमा निकै तितो हुने भएकाले स्वाद विकास गर्न पहिले त्यसलाई किण्वन गरिन्छ । त्यसपछि बिउ सुकाइन्छ, सफा गरिन्छ र भुटिन्छ । भुटिसकेपछि बाहिरी बोक्रा हटाएर प्राप्त हुने भागलाई पिसी शुद्ध चकलेटको आधार सामग्री तयार गरिन्छ । त्यसबाट कोको घन र कोको बटर छुट्याई विभिन्न प्रकारका चकलेट उत्पादन गरिन्छ ।
सामान्यतया चकलेट चार प्रकारका हुन्छन् । चिनी नहालिएको पाकाउने चकलेट, चिनी मिसाइएको मीठो चकलेट, दूध मिसाइएको दूध चकलेट र कोको घन नभई कोको बटर, चिनी तथा दूधबाट बनाइने सेतो चकलेट ।
विश्वभर चकलेट अत्यन्त लोकप्रिय खाद्यवस्तुमध्ये एक हो । विभिन्न अध्ययनअनुसार १० जनामध्ये करिब ९ जनाले चकलेट मन पराउँछन् भने दैनिक करिब एक अर्ब मानिसले चकलेट खाने गर्छन् ।
स्वादका लागि मात्र नभई चकलेटका केही स्वास्थ्य लाभ पनि छन् । चकलेटले शरीरमा मन प्रसन्न बनाउने रसायनको मात्रा बढाउन मद्दत गर्छ । विशेषगरी गाढा चकलेटमा प्रशस्त प्रतिअक्सिडेन्ट पाइने भएकाले रक्तसञ्चार सुधार गर्न, रक्तचाप नियन्त्रणमा सहयोग पुर्याउन तथा मुटुरोगको जोखिम कम गर्न उपयोगी मानिन्छ ।
विश्व चकलेट दिवसका अवसरमा मनपर्ने चकलेट परिकारको स्वाद लिने, साथीभाइसँग चकलेट स्वाद कार्यक्रम आयोजना गर्ने, विभिन्न देशका चकलेटबारे जानकारी हासिल गर्ने तथा बालबालिकालाई चकलेटसम्बन्धी पुस्तक पढाउने जस्ता गतिविधि गरिन्छ ।
विश्व चकलेट दिवसको सुरुआत कसले गरेको भन्ने स्पष्ट जानकारी छैन । तर सन् १५५० को जुलाई ७ मा पहिलो पटक चकलेट युरोप पुगेको सम्झनामा यही मितिमा यो दिवस मनाउन थालिएको मानिन्छ । पहिलो विश्व चकलेट दिवस सन् २००९ मा मनाइएको थियो ।









