• २०८३ असार २२ सोमबार

फ्रान्सको लालिक सङ्ग्रहालयबाट करिब ४० लाख युरो बराबरका क्रिस्टल गहना चोरी

फ्रान्सको लालिक सङ्ग्रहालयबाट करिब ४० लाख युरो बराबरका क्रिस्टल गहना चोरी

काठमाडौँ । फ्रान्सको प्रसिद्ध लालिक सङ्ग्रहालयबाट करिब ४० लाख युरो बराबरका क्रिस्टल गहना चोरी भएका छन्। घटना जर्मनीको सीमासँग जोडिएको विङगन–सुर–मोडेर सहरमा भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बिहान करिब साढे पाँच बजे अनुहार ढाकेका केही व्यक्तिले सङ्ग्रहालयको मुख्य ढोका फुटाएर प्रवेश गरेका थिए। उनीहरूले प्रदर्शनमा राखिएका छ वटा काँचका प्रदर्शनी बाकस तोडेर करिब २० वटा क्रिस्टल गहना लिएर फरार भएका हुन्।

चोरी भएका गहना क्रिस्टलबाट बनेका भए पनि तिनमा बहुमूल्य रत्न जडान गरिएको थिएन। यस कारण ती गहनालाई पगालेर वा पुनः बिक्री गरेर नाफा कमाउन सहज नहुने विज्ञहरूको भनाइ छ।

सन् २०११ मा स्थापना भएको लालिक सङ्ग्रहालय प्रसिद्ध फ्रान्सेली गहना तथा काँच कलाका स्रष्टा रेने लालिक र उनका उत्तराधिकारीहरूको सिर्जनालाई समर्पित छ। सङ्ग्रहालयमा आर्ट नोभो, आर्ट डेको तथा आधुनिक क्रिस्टल कलासम्बन्धी ६५० भन्दा बढी कलाकृति राखिएका छन्। चोरीपछि सङ्ग्रहालय केही दिनका लागि बन्द गरिएको छ।

यसअघि गत वर्ष अक्टोबरमा पेरिसस्थित लुभ्र सङ्ग्रहालयबाट फ्रान्सका शाही गहनामध्ये आठ दुर्लभ गहना चोरी भएका थिए, जसको मूल्य करिब ८ करोड ८० लाख युरो आँकिएको थियो। त्यसैगरी डेनिस डिडेरो हाउस अफ एनलाइटनमेन्टबाट करिब दुई हजार दुर्लभ सिक्का तथा राष्ट्रिय प्राकृतिक इतिहास सङ्ग्रहालयबाट करिब १५ लाख युरो मूल्यका छ वटा दुर्लभ सुनका डल्ला पनि चोरी भएका थिए।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै