काठमाडौं । पासपोर्ट नभएका तथा पर्यटक भिसाको अवधि सकिएपछि पनि नेपालमै गैरकानुनी रूपमा बस्दै आएका २४ जना बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार विभिन्न समयमा नेपाल प्रवेश गरेका ती विदेशी नागरिक स्थायी परिचय खुल्ने कागजात र पासपोर्टबिनै बसोबास गरिरहेका थिए। उनीहरूमध्ये केहीले पर्यटक भिसाको अवधि सकिएपछि पनि नेपालमै अवैध रूपमा बस्दै आएका थिए।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–१५ को डल्लु, सितापाइला लगायतका क्षेत्रमा सञ्चालनमा रहेका कपडा कारखानामा काम गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका सबै २४ जनालाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन कालीकास्थित अध्यागमन विभाग पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले विदेशी नागरिकहरूलाई नेपालमा बसोबास तथा रोजगारीका लागि प्रचलित कानुनअनुसार वैध कागजात र अनुमति अनिवार्य रहेको भन्दै गैरकानुनी गतिविधिमा संलग्न पाइएमा कारबाही गरिने जनाएको छ।









