• २०८३ असार ६ शनिबार

विश्वकपमा आज बिहान ट्युनिसिया र जापान आमने सामने

विश्वकपमा आज बिहान ट्युनिसिया र जापान आमने सामने

काठमाडौँ । जारी फिफा विश्वकप फुटबल इतिहासको एक हजारौँ खेलमा शनिबार ट्युनिसिया र जापानबीच प्रतिस्पर्धा हुँदैछ । मेक्सिकोमा हुने यो खेल नेपाली समय अनुसार विहान ९: ४५ बजेदेखि शुरु हुदैछ ।  

सन् १९३० मा सुरु भएको विश्वकपको ९६ वर्षपछि यो ऐतिहासिक उपलब्धि हासिल हुन लागेको हो । ट्युनिसियाका लागि यस विश्वकपको सुरुवात निकै निराशाजनक रह्यो । पहिलो खेलमा स्विडेनसँग ५-१ को फराकिलो हार बेहोरेपछि टोलीभित्र ठूलो परिवर्तन गरिएको छ ।

खराब प्रदर्शनपछि मुख्य प्रशिक्षक साब्री लामुचीलाई पदबाट हटाएर अनुभवी प्रशिक्षक हेर्भे रेनार्डलाई जिम्मेवारी दिइएको छ । लामुची विश्वकप इतिहासमै केवल एक खेलपछि बर्खास्त हुने पहिलो प्रशिक्षक बनेका छन् । उनले प्रतियोगिताअघि ट्युनिसियाको जिम्मेवारी सम्हालेका चार खेलमध्ये दुई खेल अस्ट्रिया र बेल्जियमसँग गोलरहित हारमा टुंगिएका थिए ।

अब जापानसँगको खेलपछि ट्युनिसियाले समूह चरणको अन्तिम खेल नेदरल्यान्ड्ससँग खेल्नेछ । त्यसैले समय खेर फाल्न नहुने निष्कर्षसहित फुटबल संघले तत्काल प्रशिक्षक परिवर्तन गरेको हो । रेनार्ड अन्तर्राष्ट्रिय फुटबलका अनुभवी प्रशिक्षक मानिन्छन् । उनले जाम्बिया, साउदी अरेबिया र फ्रान्सको महिला टोलीसहित विभिन्न राष्ट्रिय टोलीको नेतृत्व गरिसकेका छन् । यद्यपि कमजोर अवस्थामा रहेको ट्युनिसियालाई पुनः लयमा फर्काउनु उनको ठूलो चुनौती हुनेछ ।

स्विडेनसँगको ५-१ को हार ट्युनिसियाको विश्वकप इतिहासकै सबैभन्दा ठूलो हार बनेको छ । गोलरक्षक अब्देलमोहिब शामाखको प्रदर्शन पनि कमजोर रह्यो । उनका दुई गल्तीले प्रत्यक्ष रूपमा गोल निम्त्याएको थियो । ट्युनिसिया विश्वकप इतिहासमा एकै खेलमा पेनाल्टी क्षेत्रबाहिरबाट तीन गोल खाने दोस्रो टोलीसमेत बनेको छ । 

उता जापान भने आत्मविश्वासका साथ मैदान उत्रिने तयारीमा छ । पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध दुई पटक पछि परेर पनि २-२ को बराबरी गर्दै जापानले महत्त्वपूर्ण एक अंक जोडेको थियो । सन् २०१८ यता विश्वकप समूह चरणका सात खेलमध्ये जापानले केवल दुई खेल मात्र गुमाएको छ । टोलीले संघर्षपूर्ण परिस्थितिमा पनि उत्कृष्ट नतिजा निकाल्ने क्षमता देखाउँदै आएको छ ।

प्रशिक्षक हाजिमे मोरियासुको रणनीतिमा विकल्प खेलाडीहरूको भूमिका निकै प्रभावकारी देखिएको छ । सन् २०२२ विश्वकपपछि जापानले गरेका सात गोलमध्ये पाँच गोलमा विकल्प खेलाडीको प्रत्यक्ष योगदान रहेको छ । रक्षापंक्तिमा शो गो तानिगुचीको प्रदर्शन पनि प्रभावशाली देखिएको छ । नेदरल्यान्ड्सविरुद्ध उनले ५० मध्ये ४९ पास सफल बनाएका थिए, जुन ९८ प्रतिशत सफलता दर हो ।

ट्युनिसिया र जापान विश्वकपमा दोस्रो पटक आमनेसामने हुन लागेका हुन् । यसअघि सन् २००२ को समूह चरणमा जापानले घरेलु मैदानमा ट्युनिसियालाई २-० ले हराएको थियो । दुवै टोलीबीच भएका कुल छ खेलमध्ये ट्युनिसियाले केवल एक खेल जितेको छ । सन् २०२२ मा जापानमै भएको मैत्रीपूर्ण प्रतियोगितामा ट्युनिसियाले ३-० को जित निकालेको थियो भने बाँकी पाँच खेल जापानले आफ्नो पक्षमा पारेको छ ।

विश्वकपमा अफ्रिकी टोलीविरुद्ध सुरुवाती दुई खेल जितेको जापान पछिल्ला दुई खेलमा भने जितविहीन रहेको छ । सन् २०१४ मा आइभरी कोस्टसँग २–१ ले पराजित भएको जापानले सन् २०१८ मा सेनेगलसँग २–२ को बराबरी खेलेको थियो ।

विश्वकप इतिहासको विशेष अवसरका रूपमा हेरिएको यो खेल दुवै टोलीका लागि समूह चरणको यात्रामा अत्यन्तै महत्वपूर्ण बन्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै