काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा नेपाल-भारत सीमासम्बन्धी दिएको अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभामा पनि विरोध भएको छ ।
सोमबारको बैठकमा एमाले सांसद रामकुमारी झाँक्रीले आफ्नो अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री शाहले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेकी छन् ।
उनले भारतले नेपालको भूमि मिचिरहेको अवस्थामा प्रधानमन्त्री शाहले नेपालले भारतको जग्गा मिचेको भन्ने अभिव्यक्ति दिएर राष्ट्रहित विरुद्ध बोलेको बताएकी छन् । उनले भनिन्- 'नेपालले सीमा मिचेको छ भन्दा कसको हितमा नेपालको प्रधानमन्त्री हुनुहुन्छ ? हामीलाई लज्जाबोध भएको छ । यस्तो प्रधानमन्त्रीले नेपाली स्वाभिमान, नेपालको राष्ट्रियता, राष्ट्रिय अखण्डतालाई रक्षा गर्न सक्नुहुन्छ कि हुँदैन ? भन्ने प्रश्न उठेको छ ।'
सांसद झाँक्रीले भारतले नेपालको सीमा मिचेको र भारतीय सुरक्षाकर्मीले सीमामा नेपालीलाई दुःख दिने गरेको विषय पनि उठाएकी छन् । उनले सीमा मात्रै नामिचिएको भन्दै भारतीय सशस्त्र बलले नेपालीलाई कुटपिट गर्ने, आनन्द गौतमको त हत्या गरेको उल्लेख गरिन् ।









