• २०८१ बैशाख १८ मंगलबार

नेपाल सन्त समाजले पनि हेमानन्दलाई शंकराचार्य नमान्ने 

kharibot

काठमाडौं । पछिल्लो समय आफू शंकराचार्य भएको प्रचार गर्दै आएकी हेमानन्द गिरिलाई नेपाल सन्त समाजले पनि शंकारचार्य नमान्ने भएको छ । शनिबार विज्ञप्ति जारी गर्दै समाजले उनलाई शंकराचार्य बन्ने विधि र परम्पराबाट नआएको भन्दै अस्वीकार गर्ने निर्णय गरेको हो । 

हेमानन्दलाई यसअघि नै काशी विद्वत् परिषद् वाराणसीले अयोग्यताको कारण शंकराचार्य स्वीकार्न नसकिने स्पष्ट पारिसकेको छ । उनले पशुपति पीठको शंकराचार्य बनेको भन्दै प्रचार गर्दै आएकी थिइन् । ०७४ पुस ४ मा हेमानन्दले भारतीय चार शंकराचार्य मठमध्ये एक ज्योतिषपीठको शंकराचार्य पदमा दाबी पेस गरे पनि उक्त दाबी अयोग्यताका कारण उक्त पदपूर्ति गर्ने अधिकार पाएको स्क्रिनिंग कमिटीमा जानुअगावै खारेज गरिएको थियो । तर हेमानन्दले भने आफूलाई अखिल भारतीय विद्वत् परिषद्बाट शंकराचार्य नियुक्त भएको बताउँदै आएकी थिइन् । उनले प्रचार नछोडेपछि भारतीय र नेपाली धार्मिक संघ÷संस्थाले समेत उनलाई नमान्ने भनी विज्ञप्ति निकालेका हुन् ।

रिक्त शंकराचार्य पदमा नियुक्तिका लागि भारतको इलाहावाद उच्च न्यायायलयले भारत धर्म महामण्डल र काशी विद्वत् परिषद्लाई तोकेको छ । उक्त दुवै संस्थाले उक्त पदकी प्रत्याशी भनिएकी हेमानन्दलाई दण्डी संन्यासी नभएको, अर्कै देशको भएको र महिला भएको कारण शंकराचार्य बन्न नसक्ने भन्दै अस्वीकार गरेका थिए । समाजले विज्ञप्तिमा उक्त परम्पराविरुद्ध आफूलाई स्वघोषित रुपमा शंकराचार्य भन्दै नहिँड्न सचेत गराउने जनाउँदै दाबी नछाडे अहिले उनले पाएको महामण्डलेश्वर उपाधि पनि गुम्न सक्ने चेतावनी समेत दिएको छ ।

गत वर्षको पुस ७ मै हेमानन्दको दाबी नरहने काशी विद्वत् समाजले स्पष्ट पारिसके पनि हेमानन्द भने आफू शंकराचार्य भएको बताउँदै आएकी थिइन् । उनले पछिल्लोपटक रिपोर्टर्स क्लब नेपालमा समेत आफू शंकराचार्य बन्दा पनि सरकारले नमान्नुमा महिला भएकाले हेपेको प्रतिक्रिया दिएकी थिइन् । उता पशुपति क्षेत्र विकास कोषले समेत हेमानन्द बारे पछिल्लोपटक आएको प्रचारबाजी आफूलाई केही थाहा नभएको बताएको छ । 

महामठाम्नाय अनुशासनग्रन्थमा उल्लेख भएअनुसार महिला शंकराचार्यबारे कुनै व्यवस्था नरहनु, त्यस्तै शंकराचार्य बन्न दण्डी संन्यासी हुनु पहिलो शर्त मानिन्छ । त्यस्तै हेमानन्द नेपाली भएको कारण पनि उनी अयोग्य हुने भारतीय सञ्चारमाध्यमले समाचार छापेका थिए । यी सबैका बाबजुद हेमानन्दले भने अहिले पनि शंकराचार्य बनेको दाबी गरिरहेका बेला नेपाल सन्त समाजले उनलाई  नमान्ने स्पष्ट पारेको हो । समाजले जारी गरेको विज्ञप्तिमा संरक्षक एवं महामण्डलेश्वर आत्मानन्द गिरी, अध्यक्ष ज्ञानानन्द सरस्वती, उपाध्यक्ष रमणानन्द गिरीर महासचिव डा. गुरुप्रसाद सुवतीको हस्ताक्षर रहेको छ । 

को हुन् गिरी ? 
मोरङको पथरीमा जन्मिएकी हेमाको माइती थर ढुंगाना हो । महेन्द्र मोरङ क्याम्पस विराटनगर पढ्दा नेविसंघबाट राजनिति सुरु गरेकी उनी रामदेवको अनुयायी पनि बनेकी थिइन् । सो क्रममा महिला योग प्रभारी बनेकी उनी तत्कालीन राप्रपा नेपालमा प्रवेश गरी राजनीतिमा सक्रिय रहिन् । उनले त्यसपछि चुनाव पनि लडेकी थिइन् । पछिल्लो समय आफूलाई शंकराचार्य भएको बताएर उनी एकाएक चर्चामा आएकी हुन् । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै