काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्तुत गरेको युद्ध रोक्ने सम्बन्धी तेस्रो प्रस्तावसमेत अस्वीकार गरेका छन् ।
उनले १४ बुँदे उक्त प्रस्ताव स्वीकार गर्न योग्य नभएको बताएका हुन् । उक्त प्रस्तावमा ३० दिनभित्र युद्ध रोक्ने र हर्मुज क्षेत्र खोल्ने उल्लेख गरिएको थियो । त्यसपछि मात्रै अमेरिका र इरानबीच परमाणु कार्यक्रमबारे वार्ता सुरु गर्ने प्रस्ताव इरानले गरेको थियो । प्रस्तावमा इरानले १५ वर्षसम्म युरेनियम समृद्धि रोक्ने र त्यसपछि सीमित रूपमा पुनः सुरु गर्ने उल्लेख पनि गरिएको थियो ।
इरानले यो प्रस्ताव गत बिहीबार अमेरिकालाई पाकिस्तानमार्फत दिएको थियो । यो अप्रिलमा लागू भएको युद्धविरामपछि दुई देशबीच जारी वार्ताको एक हिस्सा थियो । यसअघि पनि ट्रम्पले कम्तीमा दुई प्रस्ताव अस्वीकार गरिसकेका छन् ।
यसैबीच ट्रम्पले ‘प्रोजेक्ट फ्रिडम’ नामक नयाँ पहल घोषणा गरेका छन् । यो योजना केही समयमै सुरु हुने बताइएको छ । यसअन्तर्गत हर्मुज क्षेत्रमा अड्किएका विदेशी जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न अमेरिका सहयोग गर्नेछ। ट्रम्पका अनुसार धेरै देशहरूले सहयोग मागेका छन् र ती जहाजहरू निष्पक्ष तथा निर्दोष भएकाले द्वन्द्वमा फसेका हुन् । उनले केही जहाजमा खाद्यान्न र अत्यावश्यक सामग्रीको अभाव हुन थालेको पनि बताएका छन्। यस मानवीय अभियानमा कुनै अवरोध भए अमेरिका कडा रूपमा प्रतिक्रिया दिने चेतावनी पनि उनले दिएका छन् ।
यता इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्सले पनि कडा प्रतिक्रिया दिएको छ । उसले ट्रम्पले ‘असम्भव अभियान वा कमजोर सम्झौता’मध्ये एक रोज्नुपर्ने बताएको छ। साथै इरानले चीन, रूस र युरोपको धारणा अब अमेरिकाविरुद्ध बदलिँदै गएको दाबी गरेको छ ।









