काठमाडौँ । भ्रष्टाचार सम्बन्धी मुद्दामा सरकारी साक्षीका रूपमा पेश गरिएका एक व्यक्तिविरुद्ध प्रतिकुल बयान दिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल सरकार वादी र रामा शंकर प्रसाद कुशवाहासमेत प्रतिवादी रहेको प्रकरणमा सरकारी साक्षी दुर्गा भण्डारी (थापा) ले अनुसन्धानका क्रममा दिएको बयानविपरीत अदालतमा बकपत्र गरेको पुष्टि भएपछि उनीविरुद्ध नयाँ आरोपपत्र दायर गरिएको जनाएको हो ।
अनुसन्धानका क्रममा सहयोग गरेको आधारमा भण्डारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सजायमा पूर्ण छुट दिई सरकारी साक्षी बनाइएको थियो। तर, उनले विशेष अदालत काठमाडौँमा २०८३ वैशाख २ गते दिएको बकपत्र आयोगमा दिएको बयान र मागदाबीविपरीत रहेको उजुरीपछि अनुसन्धान गरिएको थियो ।
अनुसन्धानबाट बलरा नगरपालिका, सर्लाहीद्वारा सञ्चालन गरिएको ‘किशोरीहरूका लागि खेलौना बनाउने तालिम’ कार्यक्रममा मुख्य प्रशिक्षकका रूपमा संलग्न भई ३० दिनको तालिममध्ये जम्मा ५ दिन मात्र प्रशिक्षण दिए पनि ३० दिनकै कार्यक्रम सञ्चालन भएको देखाउने झुट्टा कागजात तयार गर्न सहयोग गरेको पुष्टि भएको आयोगले जनाएको छ ।
यस कार्यबाट आफूलाई गैरकानुनी लाभ पुर्याउने तथा सार्वजनिक संस्थालाई हानि नोक्सानी पुर्याउने मनसाय रहेको ठहर गर्दै उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (१) (ङ) र दफा २२ बमोजिम कसुर भएको निष्कर्ष निकालिएको छ ।
उक्त प्रकरणमा मुख्य कसुरदारबाट ३ लाख ८२ हजार ५३ रुपैयाँ बिगो कायम गरिएको छ। सोही आधारमा भण्डारीलाई पनि मुख्य कसुरदार सरह सजायको माग गर्दै विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।









