• २०८१ बैशाख १७ सोमबार

फुजेल घटनाको बहसमा नुरप्रसाद अधिकारीलाई झिकाउन आदेश

kharibot

चितवन।  जिल्ला अदालत चितवनले गोरखा फुजेलका कृष्ण अधिकारी हत्यासम्बन्धी मुद्दामा जाहेरवाला नुरप्रसाद अधिकारीलाई झिकाउन पुनः आदेश गरेको छ । अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलाशले उक्त आदेश गरेको हो । 

शर्माले वादी, प्रतिवादी र जाहेरवालाका अधिवक्ताको बहस सुनेपछि अदालती बन्दोबस्तीको ११० को रित पुर्याइ अधिकारीलाई पुनः म्याद जारी गर्न आदेश गर्नुभएको अदालतका स्रेस्तेदार गेहेन्द्रराज पन्तले बताए । 

यसअघि फागुन १३ गते न्यायाधीश शर्माले अधिकारीलाई झिकाउन म्याद जारी गरेका थिए । सो समयमा जिल्ला अदालत गोरखाका कर्मचारीले व्यक्ति र परिवार नभेटेपछि घर नजिकैको चौताराको पिपलको बोटमा म्याद टाँस गरेका थिए । सो कार्य रितपूर्वक नभएको भन्दै बदर गरी पुनः म्याद जारी गरिएको हो । 

अदालतका साक्षी संरक्षण अधिकृत गम्भीर घिमिरेका अनुसार म्याद जारी गर्दा स्वयं व्यक्ति, नभेटिए घरका जहान, त्यो पनि सम्भव नभए घरको मूल ढोकामा म्याद टाँस गर्नुपर्ने हुन्छ । यसअघि रित नपुगेका कारण पुनः म्याद जारी गर्न आदेश भएको हो । घिमिरेका अनुसार भदौ ४ गते अधिकारीलाई अदालतमा हाजिर हुने गरी म्याद जारी गरिने भएको छ । 

अदालतमा आज वादीका तर्फबाट जिल्ला न्यायाधिवक्ता परमेश्वर पराजुली, जाहेरीवालाका तर्फबाट वरिष्ठ अधिवक्ता बाबुराम गिरी र अधिवक्ता ईन्द्र अर्यालले बहस गरेका थिए । त्यसैगरी प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता धर्मराज आचार्य, मुक्ति प्रधान, रमण श्रेष्ठ र अधिवक्ता दिनमणि पोखरेलले बहस गरे ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै