चितवन / गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाको बहस आज शुरु भएको छ ।
जिल्ला अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलासमा वादीका तर्फबाट जिल्ला न्यायाधिवक्ता परमेश्वर पराजुलीबाट बहस शुरु भएको अदालतका स्रेस्तेदार गहेन्द्र पन्तले जानकारी दिए ।
कृष्णप्रसादको विसं २०६१ जेठ २४ मा अपहरणपछि हत्या भएको थियो । प्रवेशिका परीक्षा दिएर पूर्वी चितवनको जयमंगलामा हजुरबुबा भेट्न आएका समयमा अपहरणपछि रत्ननगरको बकुलहरमा उनको हत्या भएको थियो । घटनाको जिम्मा तत्कालीन माओवादीले लिएको थियो । मृतकका बाबु नन्दप्रसाद र दाजु नुरप्रसादले हत्यारा खोजेर कारवाही गर्न माग गर्दै तत्कालै जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएका थिए ।
लामो समयसम्म कारवाही नभएपछि कृष्णप्रसादका बुबा नन्दप्रसाद र आमा गंगामाया अनशनमा बसेका थिए । उनीहरु अनशनमा बसेको लामो समयपछि प्रहरीले २०७० साउनमा सो उजूरीबारे अनुसन्धान शुरु गरेको थियो । उजूरीमा किटिएकामध्ये केहीलाई पक्राउ गरी अनुसन्धान गरेर मुद्दा चलाउन प्रयास भए पनि मुद्दा दर्ता हुनसकेको थिएन ।
नन्दप्रसाद र गंगामायाले अनशन जारी नै राखेपछि अनुसन्धान पूरा भई २०७० चैत ३० गते चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । सो घटनामा १३ प्रतिवादी छन् । सबैलाई जन्मकैद सजाय माग गरिए पनि प्रमाण नपुग्ने भन्दै अदालतले दुई जनालाई धरौटीमा छाडेको थियो ।
सो प्रारम्भिक आदेशपछि अन्य अभियुक्तले पनि फरक फरक समयमा उपस्थित भएर अदालतमा बयान दिएका थिए । बयान दिन आएकामध्ये केही साधरण तारेख र केही सामान्य धरौटीमा छुटेका थिए । सो मुद्दाका एक अभियुक्त रुद्र आचार्य विदेशमा छन् । उनी अदालतमा अझसम्म उपस्थित भएका छैनन् ।