काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ बस्ने खोटाङ ऐसेलुखर्क गाउँपालिका-८ घर भएका ४१ वर्षीय रमेश कुमार निरौला, काठमाडौं तारकेश्वर नगरपालिका-१० बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-४ घर भएका ६४ वर्षीय चित्र बहादुर कार्की, काठमाडौं महानगरपालिका-२८ बस्ने महोत्तरी भँगाहा नगरपालिका-८ घर भएका २३ वर्षीय हैदर अली र भक्तपुर चाँगुनारायण नगरपालिका-८ बस्ने २२ वर्षीय दिनेश पुरी रहेका छन् ।
पक्राउ मध्ये रमेश कुमारले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ४० हजार रूपैयाँ, चित्र बहादुरले इजराइल पठाइदिन्छु भन्दै १ जना पीडितबाट १३ लाख रूपैयाँ, हैदरले सर्विया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट ३२ लाख ५० हजार रूपैयाँ र दिनेशले क्रोएसिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १२ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रमेश कुमार र दिनेशलाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ बाट, चित्र बहादुरलाई काठमाडौं तारकेश्वर नगरपालिका-१० बाट तथा हैदरलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो ।
पक्राउ मध्ये रमेश र चित्र बहादुरलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ भने हैदर र दिनेशलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।









