काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन कार्यालय प्रमुख अशोक कुमरा सिंहसित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले तत्कालीन निमित्त कार्यालय प्रमुख सिंहसहित ६ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो ।
तत्कालीन निमित्त कार्यालय प्रमुख सिंह, शिक्षा विकास तथा समन्वय इकाइका तत्कालीन इन्जिनियर सुनेश कुमार चौरसिया, तत्कालीन सब इन्जिनियर नरेश रावतविरुद्ध मुद्दा दायर भएको हो । यसैगरी प्रसूति केन्द्र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष पारस रोकाया, सचिव मुना रोकाया र कोषाध्यक्ष खडक ऐडीलाई मुद्दामा विपक्षी बनाउँदै आयोगले आरोप-पत्र दायर गरेको हो ।
आर्थिक वर्ष २०७५/०७६ मा बाजुरा हिमाली गाउँपालिका-६ मा प्रसूति केन्द्र भवन निर्माणका लागि स्वास्थ्य कार्यालय बाजुराबाट २० लाख र उपभोक्ता समितिबाट ६ लाख १५ हजार २ सय रुपैयाँ व्यहोर्नेगर कन्टेन्जेन्सी सहित २६ लाख १५ हजार २०६ रुपैयाँ रकममा २०७६ जेष्ठ मसान्तभित्र कार्य सम्मन्न गर्नेगरी स्वास्थ्य कार्यालय र प्रसूति केन्द्र भवन निर्माण उपभोक्ता समितिबीच सम्झौता भएको थियो ।
तर तत्कालीन निमित्त कार्यालय प्रमुख सिंहसहित ६ जनाले बदनीयत राखी लागत अनुमान बमोजिम काम गरेको भनी झुठ्ठा बिल तथा कार्य सम्पन्न प्रतिवेदन तयारी गरी गराइ १५ लाख ८ हजार ५५७ रुपैयाँ भुक्तानी दिएको देखिएको अख्तियारको ठहर छ । कमसल सामान प्रयोग गर्दा भवन भग्नावशेषमा परिणत भइ १५ लाख ८ हजार ५५७ मूल्य बराबरको सार्वजनिक सम्पत्तिको हिनामिना हानिनोक्सानी र दुरुपयोग गरेको तथ्य अनुसन्धानबाट खुलेको अख्तियारको दावी छ ।
अख्तियारले १५ लाख ८ हजार ५५७ बिगो र कानुन अनुसार सजाय माग गर्दै मुद्धा दायर गरेको जानकारी गराएको छ ।









