• २०८३ बैशाख १७ बिहीबार

यात्रा संस्मरण: जर्जटाउन- 'स्ट्रिट आर्ट' मा विशिष्ट शैली

यात्रा संस्मरण: जर्जटाउन- 'स्ट्रिट आर्ट' मा विशिष्ट शैली

मलेसियाको पेनाङ राज्यको सदरमुकाम जर्जटाउनमा विशिष्ट शैलीका स्ट्रिट आर्टमा रमाउन पाइयो ।   २० अक्टोबर, २०२३ का दिन हामी परिवारका चारै जना (कौशु, सम्यक, सार्थक र म आफै) मलेसियाको पेनाङ्को जर्जटाउनमा छौं । १९ अक्टोबरका दिन यहाँ आएका हौं— हामी । हामी आज बिहान मलक्का स्टेटको किनारामा गयौं; त्यहाँस्थित प्रस्तर कला हेर्दै रमायौं, फोटो खिच्यौं र फर्कियौं । आज दिउँसो भने हामी यहाँका ‘स्ट्रिट आर्ट’ हेर्ने र रमाउने धुनमा छौं ।

७ जुलाई २००८ मा युनेस्कोले जर्जटाउनलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेको रहेछ । पेनाङ राज्य सरकार युनेस्कोको यस निर्णयलाई उत्सवका रूपमा लिएछ । त्यसैले सेप्टेम्बर २००९ मा पेनाङ राज्य सरकारले जर्जटाउनलाई भौतिक रूपमा फरक, अद्धितीय र छुट्टै विशेषतायुक्त पहिचान दिनका लागि ‘मार्किङ जर्जटाउन’ नामको अभियान प्रारम्भ गरेछ ।

‘मार्किंङ जर्जटाउन’ परियोजनाले जर्जटाउनलाई विशिष्ट तुल्याउन ‘स्ट्रिट आर्ट’ लगायतका अनेकन् कार्य गरेछ; त्यसका लागि मार्किङ जर्जटाउन परियोजनाले देशका बिभिन्न क्षेत्रबाट कार्टुन स्टिल कलाका कलाकारहरूलाई आमन्त्रण गरेर यस भूमिकालाई सम्पन्न गरेको रहेछ । त्यस परियोजनाले जर्जटाउनका सडकका भित्ताहरूमा चित्रश्रृंखलामार्फत् जर्जटाउनको दैनिक जीवन र कथा श्रृंखला देखाउने भूमिका पनि पाएको रहेछ । जर्जटाउनको सडकका भित्तामा छ्यासछ्यास्ती÷मनग्गे ‘स्ट्रिट आर्ट’ देखिनुमा त्यो अभियानकै भूमिका रहेछ ।

जर्जटाउनमा हामी बास बसेको ‘नाइन्टीनाइन हेरिटेज हाउस’ नामको होमस्टे वास्तुकला र साँस्कृतिक दृष्टिले महत्वपूर्ण क्षेत्रकै नजिक थियो । हामीले दृश्यावलोकनका लागि ‘स्ट्रिट आर्ट’तर्फ अभिमुखता देखाएपछि होमस्टेको नजिकनजिकै पनि हामीले हेर्न खोजेका सामग्रीहरू पायौं । स्ट्रिट आर्टका सामग्रीहरू सरसरती हेरेर पुग्ने स्तरका नहुने । ती सामग्रीलाई बुझ्न र रमाउनका लागि गहिरिएर हेर्नु पर्ने । एउटा आर्टबाट अर्को आर्टका बीचको दूरी पनि खासै टाढा नहुने । स्ट्रिट आर्टका सामग्री यही रोड वा यस क्षेत्रमा मात्र छन् भन्ने पनि नहुने । त्यसमा पनि यहाँका ‘स्ट्रिट आर्ट’ विशिष्ट शैलीका । पर्यटक आफै पनि त्यसको अङ्ग बन्न सक्ने किसिमले आर्टमा स्पेस रहेको । त्यसैले हामी यहाँ ‘स्ट्रिट आर्ट’को अवलोकनका लागि पैदल नै निस्किने भयौं ।

यहाँका यी ‘स्ट्रिट आर्ट’ दैनिक जनजीवनको चित्रण भएको रहेछ । डुङ्गा चलाएको, चिया बेचेको, उफ्रेर भलिबल जस्तै केही खेलेको, मोटर साइकिल चलाएको, साइकिलमा राखेर केही ‘स्ट्रिट फुड’ बेच्ने मान्छेसंग घरभित्रका मान्छेले झ्यालबाट हात लम्काएर त्यो फुड लिन खोजेको, महिला खाना बनाउन, पुरुष आराम गर्न र बालबालिका खेल्न लागेको, पिङ्नजिककै केटाकेटी खेल्न पर्खेको, बिबिध बाजाहरू बजाएर मान्छेहरू नाँचेको÷उत्सव मनाएको जस्ता जनसामान्यका दैनिक जीवन यी ‘स्ट्रिट आर्ट’मा चित्रित रहेछ । चित्रकारले जर्जटाउनकै सडक वरपरका दृश्य हेरेर, तिनैलाई थपक्क टिपेर आफ्नो कलामार्फत् सडकका भित्तामा अङ्कित गरिदिए जस्तो । यसरी हेर्दा यी ‘स्ट्रिट आर्ट’मा दिनदिनै सडकमा देखिने दृश्यहरू अङ्कित रहेछन् । यहाँका ‘स्ट्रिट आर्ट’मा प्राकृतिक र अलौकिक सौन्दर्य होइन; जनसामान्यका मानवीय क्रियाकलापलाई टिप्ने प्रयास भएको रहेछ; मानवीय क्रियाकलापमा अन्तर्निहित सौन्दर्यलाई प्राथमिकताका साथ चित्रण गरिएको रहेछ । यहाँका ‘स्ट्रिट आर्ट’मा पाइने एउटा रमाइलो पक्ष यो भयो ।

यी ‘स्ट्रिट आर्ट’ले दर्शकलाई परबाट हेर्न र रमाउन मात्र होइन; यदि ऊ चाहन्छ भने त्यही आर्टकै अङ्ग बनेर फरक स्तरको मनोरञ्जन प्राप्त गर्ने स्पेस दिएझै पनि लाग्ने रहेछ; दर्शकले ‘स्टिट आर्ट’ आफ्नो उपस्थिति पनि औचित्यपूर्ण देख्ने सक्ने रहेछ; आफू ‘स्टिट आर्ट’को एक हिस्सा बनेको अनुभव संगाल्न सक्ने रहेछ । भलिबल जस्तै खेल खेलेको दृश्यमा आफू पनि त्यही हाउभाउमा रहेर, झ्यालबाट हात लम्काएको दृश्यमा आफूले पनि हात लम्काएर, पिङ् रहेको दृश्यमा आफू पनि पिङ्मा बसे झै गरेर, मान्छे नाँचेको÷उत्सव मनाए जस्तो दृश्यमा आफू पनि त्यही सुहाउँदो हाउभाउमा देखिएर दर्शकले सहगागिता जनाउन सक्ने रहेछ । यस्तो सहभागितामार्फत् दर्शक आफू पनि त्यही ‘स्ट्रिट आर्ट’को एक अङ्ग बनेझै लाग्ने; आफ्नो सहभागितापछि त्यो ‘स्ट्रिट आर्ट’ले पूर्णता प्राप्त गरेझै देख्न पाउने । आफ्नो सहभागिता÷भूमिका त्यो ‘स्ट्रिट आर्ट’का सन्दर्भमा सटिक हुन सक्यो कि सकेन भन्ने बारेमा मूल्याङ्कन/पूर्नमूल्याङ्कन गर्न पनि पाउने । यी ‘स्ट्रिट आर्ट’मा केही यस्ता आर्ट पनि छन्; जहाँ दर्शकको सहभागितालाई सहज र अर्थपूर्ण बनाउन केही भौतिक वस्तुहरू राखिएका छन् ।

जस्तै ‘स्ट्रिट फुड’ तयार गरेर बेच्न लागे जस्तो एक दृश्यको नजिकमा दर्शक बसोस् भनेर एउटा ब्रेन्च नै राखिएको रहेछ । त्यस ब्रेन्चको प्रयोजन नै दर्शकलाई त्यसमाथि बसेर आफूलाई ‘स्ट्रिट आर्ट’को अङ्गका रूपमा प्रस्तुत गर्न सकोस् भन्ने देखिने । त्यस्तै मोटरसाइकिल हाक्न लागे जस्तो अङ्कित ‘स्ट्रिट आर्ट’मा दर्शक बस्न पुग्ने स्पेस छ; नाँचगान गरे जस्तो ‘स्ट्रिट आर्ट’मा दर्शकलाई उभिन र हाउभाउ देखाउन स्पेस राखी दिएझै लाग्ने गरी ठाउँ छाडिएको छ; ढोका अङ्कित ‘स्ट्रिट आर्ट’मा दर्शकलाई बस्न दुवैतिर सिटको व्यवस्था छ आदि ।

हामीलाई जर्जटाउन ढिलो आएको अनुभव भयो । ढिलो कुन अर्थमा भने, जर्जटाउनमा सेप्टेम्बर २००९ मा ‘मार्किङ जर्जटाउन’ अभियान प्रारम्भ भएको । यी ‘स्ट्रिट आर्ट’ त्यही अभियानको एक महत्वपूर्ण हिस्सा । त्यतिबेलाका ‘स्ट्रिट आर्ट’मध्ये कतिपय अब पुराना देखिन थालेका छन्; केही पर्खाल भत्किएर क्षतिग्रस्त भएका छन्; कतिपय ‘स्ट्रिट आर्ट’ मेटिए जस्तै देखिएका छन् । जर्जटाउनको साँस्कृतिक परिवर्तनका बीच देखापरेको दैनिक जनजीवनका परिप्रेक्ष्यमा यी ‘स्ट्रिट आर्ट’ले आफ्नो सान्दर्भिकता गुमाउने खतरा पनि अगाडि आएको छ; यी ‘स्ट्रिट आर्ट’ले जर्जटाउनको जनजीवनको हिजोको वास्तविकता टिपेका हुन् आजको जनजीवन अङ्कित गरेका होइनन् भन्ने आभाष हुन सक्ने अवस्था सिर्जना भए झै देखिन्छ ।  यी ‘स्ट्रिट आर्ट’ आजको जनजीवन अनुकूल हुने किसिमले अध्यावधिक हुनु पर्ने होला । समाजमा आएको साँस्कृतिक  परिवर्तनसंग गाँसेर यिनको संरक्षण हुनुपर्ने होला । यी ‘स्ट्रिट आर्ट’ निर्माण भएको झन्डै १४ वर्षपछि यहाँ आइपुग्यौं— हामी । यी ‘स्ट्रिट आर्ट’लाई हामीले चहकिलो स्वरुपमा अनुभव गर्न पाएनौं; यिनको चमकधमक हामीले हेर्न पाएनौं । हामीले ‘स्ट्रिट आर्ट’ पुराना र क्षतिग्रस्त भएपछि मात्र हेर्न पायौं ।

खुशी छौं; ढिलै भए पनि हामी यी ‘स्ट्रिट आर्ट’बीच रमाउन पायौं ।

दर्शकलाई ‘स्ट्रिट आर्ट’मा आफ्नो सहभागिता देखाउन जुन ‘स्पेस’ यहाँ दिएको देखियो; हामीलाई धेरै रमाइलो लाग्यो । जर्जटाउनका सडकको वारिपारिका ‘स्ट्रिट आर्ट’का कलाकारको यस्तो मज्जाको कल्पनाशीलता देखेर हामी मुग्ध भयौं ।

(लेखक समाजशास्त्री हुन् ।)

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै