मलाई गोधुली मन पर्छ
रात मन पर्दैन
लाटकोशेरो कराएर
निन्द्रा बिगारि दिन्छ
फ्याउरो कराएर
अशुभ संकेत प्रकट गर्छ
रात घातक छ
जूनलाई पनि ग्रहणले खाइ दिन्छ ।
मलाइ उज्याले मन पर्छ
म उज्यालोको खोजिमा
सुदूर बस्तिवाट भौतारिदै
तिम्रो शहर आइ पुगेको छु ।
तिम्रो शहरमा शान्ति छैन
भिखारीहरुको तात देख्छु
आकाशे पुलमा
अपाङ्गहरु रोइरहेको भेट्छु
सडक पेटीमा अनाथहरु
वेवारिश छटपटाई रहेको भेट्छु ।
निराश अनुहार बोकेर सहरियाहरु
पशुपति धाउँछन
फोहोरी जल चढाएर
काला कर्तुत लुकाउन
गुहेश्वरी भाक्छन
स्वयंभूमा बुद्धलाई थुनेर
कथित शान्तिको प्रार्थना गर्छन
जामे मस्जिदमा अल्लाह पुकार्दै
पाप मोचनका लागि
नमाज पढ्छन
जिससको कसम खाएर
वाइवल साक्षी राखी
सैतान विरुद्ध
आक्रोश पोख्छन ।
धर्म अफिम हो भन्छन
अफिमको नशा लागे जस्तो
अन्ध भक्त भएर
मान्छेहरु एकोहोरिएका छन
धर्मको नाममा
पुण्य हैन
पाप गरिरहेछन ।
भोकालाई खाना छैन
नाङ्गार्ला लाउन छैन
सुकुम्बासिलाई घर छैन
तिम्रो भगवान
मूकदर्शक बस्छ
अन्यायीहरुको हालि मुहालि छ
न्यायको प्रत्याभूति छैन
एउटा बालक
आमा खोजिरहेछ
भगवान संग
कुनै दया माया छैन ।
मैले उज्यालो भेटेकै छैन
रामबाबु घर फक्र्यो, फर्केन ?
आमा बा बाटो हेरी बस्लान
जहान छोरा छोरी पीडाले रुँदा हुन
दौतरीहरु उज्यालो कुरी रहेका होलान
मैले उज्यालो लिएर आउँला भनेथें
मेरो यात्रामा अनिश्चयका बादल मडारि रहेकै छन
मेरो घर फर्कने कुनै टुङ्गो छैन ।
(सुन्दरहरैंचा –०६, दुलारी, मोरङ)









