काठमाडौँ । अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरलाई अन्तरिक्षबाट फिर्ता ल्याउन स्पेसएक्सले नयाँ टोलीसहित अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा रकेट प्रक्षेपण गरेको छ ।
दुवै अन्तरिक्ष यात्री आठ दिनको लागि मात्र अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन गएका थिए, तर अन्तरिक्ष यानमा केही प्राविधिक समस्याका कारण उनीहरू पछिल्लो नौ महिना अन्तरिक्षमा नै बस्नुपरेको छ ।
नयाँ टोली अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पुगेको दुई दिन पछि, अन्तरिक्ष यात्रीहरूले पृथ्वीमा फर्कने आफ्नो यात्रा सुरु गर्नेछन् । नासाका कमर्सियल क्रू प्रोग्राम म्यानेजर स्टिभ स्टिचले यो मिसनबाट आफू धेरै खुसी भएको बताएका छन् । उनले भने, 'बुच र सुनीताले उत्कृष्ट काम गरेका छन् र हामी उनीहरूलाई फिर्ता पाउन उत्सुक छौं ।'
सुनिता विलियम्स र बुच विल्मोरले जुन ५, २०२४ मा परीक्षण अभियानको लागि बोइङको स्टारलाइनर अन्तरिक्ष यानमा उडान भरेका थिए ।
उनी आठ दिनपछि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट फर्कने भनिएको भएपनि प्राविधिक गडबडीका कारण उनीहरुलाई फिर्ता ल्याउने मिसन रोकिएको थियो ।