काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज बिहीबार अपराह्न भारतको राजधानी नयाँ दिल्ली पुगेकी छिन् । भारतको झारखण्डस्थित बाबा वैद्यनाथ धाममा दर्शन तथा पूजाआजापछि उनी आज नयाँ दिल्ली पुगेकी हुन् ।
मन्त्री डा. राणालाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मनु महावर तथा भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले स्वागत गरेका थिए ।
मन्त्री डा. राणा भारतको विदेश मन्त्रालयसँगको सहकार्यमा ‘द अब्जर्भर रिसर्च फाउन्डेसन’ (ओआरएफ)द्वारा यही मार्च १७ देखि १९ सम्म नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।
मन्त्री डा. राणाले यही मार्च १७ मा उदघाटन हुने सो कार्यक्रममा ‘जलवायु परिवर्तनको अवस्था र समस्या तथा दक्षिण के चाहन्छ ?’ नामक अलग–अलग सेसनमा सहभागी भई नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ । साथै उनले यसैअन्तर्गत डिजिटल पब्लिक इन्फ्रास्टक्चर कन्क्लेभलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।
यस कार्यक्रमका दौरानमा मन्त्री डा. राणाले भारतका विदेशमन्त्री डा. एस जयशंकर तथा अन्य मित्रराष्ट्रका समकक्षीसँग पनि द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।