काठमाडौँ । जारी पीएम कपमा आज सुदूरपश्चिम प्रदेश, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् ।
देउखुरी क्रिकेट स्टेडियममा समपन्न खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई६ विकेटले पराजित गरेको छ । सुदूरपश्चिमको जितमा किरण ठगुन्नाले १२१ रनको शतकीय पारी खेलेका थिए । गण्डकीले दिएको २२१ रनको लक्ष्य पछाएको सुदूरपश्चिमले ठगुन्नाको १२१ रनको सहयोगमा ४३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । ठगुन्नाले १०१ बल खेल्दै ९ चौका र ६ छक्का प्रहार गरेका थिए ।
त्यस्तै तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल मैदानमा सम्पन्न अर्को खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ८७ रनले पराजित गरेको छ । नेपाल पुलिसले दिएको २५० रनको लक्ष्य पछाएको लुम्बिनीले ५० ओभरमा ९ विकेट गुमाएर १६२ रन बनाएको थियो ।
त्यस्तै सिद्धार्थनगर रंगशालामा सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई १३४ रनले पराजित गरेको छ । आर्मीले दिएको २६३ रनको लक्ष्य पछाएको बागमतीले २७ ओभरमा अलआउट हुदै १२८ रन मात्र बनाएको थियो ।
अब मंगलबार कोशी प्रदेश र मधेश प्रदेश तथा गण्डकी प्रदेश र कर्णाली प्रदेशबीच खेल हुदै छन् ।