• २०८१ फाल्गुण २३ शुक्रबार

राजावादी सक्रिय भएपछि ओली र प्रचण्डको प्रतिक्रिया, चुनाव लड्न चुनौती

kharibot

काठमाडौँ  । पूर्वराजा ज्ञानेन्द्र शाहले आफुलाई साथ दिन आव्हान गरेपछि राजावादीहरु सक्रिय भएपछि राजनीतिक दलका शिर्ष नेताहरुका प्रतिक्रिया आउन थालेका छन्  ।  विहिबार प्रधानमन्त्री केपी शर्मा ओली र पुर्व प्रधानमन्त्री एवम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुर्वराजाका विषयमा चेतावनीपूर्ण टिप्पणी गरेका छन्  । 

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लड्न चुनौती दिएका छन् ।  बिहीबार महोत्तरीमा कागज कारखानाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पूर्वराजा शाहलाई छायाँ अघि सारेर नभई आफैं राजनीतिक दल खोलेर निर्वाचन लड्न चुनौती दिएका हुन् । उनले कुर्सीमा बस्दा राजा हुने दिन गएको जिकिर गर्दै जन्मिँदै राजा हुने प्रणाली स्वीकार्य नहुने बताउदै संविधान र लोकतन्त्रको बाटो समातेर अघि बढ्न भने सबैलाई खुला रहेको जिकिर गरे ।

प्रधानमन्त्री ओलीले भने- 'पूर्वराजा लोकप्रिय छन् भने चुनाव लड्नुस् । आउनुस् पार्टी खोल्नुस् । एउटा घोस्ट भन्छ नि छायाँ अघि सारेर होइन, आफू अघि सर्नुस् न । लोकप्रिय हुनुहुन्छ भने ठीक छ, चुनाव लड्न आउनुस् न । तपाईंलाई जहाँसुकै पनि चुनाव लड्न खुला छँदैछ नि । आउनुस् चुनाव लड्नुसु, पार्टी खोलनुस्, खोलेकै छ, त्यसलाई आफ्नो भन्नुस् । मेरो पार्टी भन्नुस् न । अलिकति टाउको निकाल्ला निकाल्ला जस्तो पनि गर्ने, अलि अप्ठ्यारो पर्‍यो भने लुसुक्क पछाडि तानेर कछुवा तालले टाउको लुकाउने ।'

प्रधानमन्त्री ओलीले नेपाली जनताले अब राजतन्त्र स्वीकार नगर्ने र संविधानले पनि नचिन्ने बताए । उनले भने- नेपाली जनताले अबको समयमा राजतन्त्रलाई स्वीकार गर्दैनन् । राजतन्त्र मान्य हुँदैन । हाम्रो संविधानले राजतन्त्र चिन्दैन । नेपाली जनताले फालिसकेका छन् । म स्पष्ट भन्न चाहन्छु, बेकारको तनाव बढाउने काम कसैले पनि गर्न नखोज्नुस् ।'

प्रधानमन्त्री ओलीले राजसंस्थाको जन्म नै षड्यन्त्रबाट भएको भन्दै बलमिच्याइँ र अराजकता नेपाली जनतालाई स्वीकार्य नहुने बताए । उनले भने- 'संवैधानिक लोकतान्त्रिक बाटोबाट अघि बढ्नुस् । विधिको बाटोबाट अघि बढ्नुस् । बलमिच्याइँ, अराजकता र झाडीको बाटोबाट कोही सिंहासनमा बस्छु भन्ने ठानेको छ भने नेपाली जनतालाई त्यो कुरा स्वीकार्य छैन ।'

त्यस्तै प्रचण्डले पनि पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै राजसंस्था फर्काउने दुस्साहस कुनै पनि हालतमा सफल नहुने प्रतिक्रिया दिएका हुन् । उनले पूर्वराजा ज्ञानेन्द्रले पार्टी खोलेर चुनाव लड्दामात्रै पनि झन ठूलो मूल्य चुकाउनुपर्ने बताए । अब जनताले निरङ्कुश राजतन्त्रलाई नमान्ने उनले बताए ।

प्रचण्डले भने- ‘इतिहासको चक्का पछाडि फर्काउने दुस्साहस कुनै हालतमा सफल हुँदैन । त्यो मुर्खता हो । अहिले धेरै नेताहरुले भनेको मैले सुनिराखेको छु– पूर्वराजा नागरिक भइसकेका छन्, नागकिकको रुपमा पार्टी खोलेर चुनाव लडे हुन्छ । त्यो मुर्खता उनले गरे भने त्यसको मूल्य झन ठूलो चुकाउनुपर्ने अवस्था आउँछ । जनता मान्नेवाला छैनन् । त्यो कुरा बुझे हुन्छ ।'

साथै, प्रचण्डको पूर्वराजासँग उठीबसी रहेको भनी केही तत्वहरुले भ्रम फैलाएको पनि उनले बताए । त्यसरी फैलाइएको भ्रमलाई जनताले नपत्याउने पनि प्रचण्डको भनाइ छ । अध्यक्ष प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रले पहिला पनि पटक–पटक मुर्खता देखाइसकेको बताउँदै अब उक्त गल्ती नदोहोर्याउने सुझाव दिए । उनले भने-‘अहिले केही मान्छेहरुले इतिहास फर्किन्छ भन्ने सोच्नु त्यो भन्दा मुर्खता केही पनि हुँदैन । यो भन्दा अगाडि पनि ज्ञानेन्द्रले धेरै मुर्खता गरिसकेका छन् । फेरि अहिले त्यो काम नगरून् । मेरो सुझाव यही हो ।'

अर्कोतर्फ पूर्व राजा ज्ञानेन्द्र शाह भने केही समयदेखि पोखरा भ्रमणमा छन् । त्यहाँको धार्मिक एवम् ऐतिहासिक क्षेत्रको भ्रमण सकेर उनी आगामी २५ गते काठमाडौं फर्किने तयारीमा लागेका छन् । यही क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र दुर्गा प्रसाईका समर्थकहरुले ज्ञानेन्द्रलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने तयारी गर्दै सहभागी हुन आव्हान गरिरहेका छन् । सोही स्वागत कार्यक्रममा राजतन्त्र पक्षधरहरुले सरकारविरुद्धको आन्दोलनलाई अझ सशक्त बनाउने संकेत पनि गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै