• २०८१ फाल्गुण २१ बुधबार

टियु क्रिकेट मैदानको प्यारापिट निर्माण सुरु, वैशाख २० गतेभित्र सक्ने

kharibot

काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापिट निर्माणको काम सुरु भएको छ ।

मंगलबारदेखि निर्माण कम्पनी बीकेओआई केसीडीसी जेभीले २ महिनामा निर्माण सम्पन्न गर्ने गरी प्यारापिट निर्माणको काम सुरु गरेको हो । हाल १० हजार दर्शक क्षमताको विना छतको प्यारापिट निर्माण गरिने भएको छ ।

निर्माणको काम आगामी वैशाख २० गतेभित्र सम्पन्न गर्नुपर्ने समय सिमा तोकिएको छ । निर्धारित समयमा काम सक्न निर्माण कम्पनीले तीन सिफ्टमा गरेर २४सै घण्टा काम गर्ने बताएको छ ।

शहरी विकास मन्त्रालयअन्तर्गत संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले फागुन १ गते केसीडीसी जेभीको प्यारापिट निर्माणका लागि ४३ करोड ७७ को बोलपत्र स्वीकृत गरेको थियो र सोहीअनुसार कम्पनीले निर्माण कार्य सुरु गरेको छ ।

त्यस्तै फ्लड लाइट जडानका लागि ४२ करोड १९ लाखको बोलपत्र स्वीकृत भएपछि विशाण-ईश्वरी जोइन्ट भेन्चरले पनि निर्माण कार्य सुरु गर्ने तयारी गरेको छ ।

गत असारमा आफ्नो कार्यभार सम्हाल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ३०० दिनभित्र किर्तिपुरस्थित क्रिकेट स्टेडियमको निर्माण सम्पन्न गर्ने निर्णय गरेपनि प्रक्रियागत झन्झटका कारण बल्ल अहिले आएर काम शुरु भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै