काठमाडौँ । काठमाडौंको टोखामा आइतबार प्रहरीले गोली प्रहार गर्दै फरार अभियुक्त गुड्डु पटेललाई पक्राउ गरेको छ । पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि प्रहरीले गोली चलाएको थियो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पटेल साढे दुई वर्षअघि जोरपाटीमा गोली हानी हत्या गरिएका लाल मोहम्मद हत्या प्रकरणमा संलग्न सुटर हुन् । उनलाई नियन्त्रणमा लिन डिएसपीको कमाण्डमा खटिएको प्रहरी टोलीले टोखामा अपरेसन चलाएको थियो ।
अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार पक्राउको क्रममा भाग्न खोजेपछि प्रहरीले खुट्टामा गोली प्रहार गरेको थियो ।
२०७९ असोज ३ गते भक्तपुरको गोठाटारमा मोहम्मदको हत्या भएको थियो । दुई जना सुटरले मोहम्मदलाई कपडा प्याक गर्ने प्लास्टिक लिएर जोरपाटीबाट फर्कने क्रममा गोली प्रहार गरी हत्या गरेका थिए ।
घटनामा संलग्न मुख्य अभियुक्तको रूपमा पटेलको पहिचान भएपछि प्रहरीले उनलाई पक्राउ गर्न खोजेको थियो । प्रहरीले अहिले पटेललाई उपचारका लागि अस्पताल पुर्याएको छ भने घटनाका थप अनुसन्धान जारी रहेको जनाएको छ ।