• २०८१ फाल्गुण १८ आइतबार

ट्रम्प र जेलेन्स्कीबीचको तनावपछि रुसमा खुशियाली, युरोपमा चिन्ता

kharibot

काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको वार्ताले अप्रत्याशित मोड लिएपछि अब युक्रेन युद्ध कुन मोडमा जाला भन्ने अनुमान र विश्लेषण शुरु भएको छ । जेलेन्स्की र ट्रम्प बीचको यो भेटघाटलाई ठूलो आशाका साथ हेरिएको थियो । तर दुई जना बीच ह्वाइटहाउसमा वाकयुद्ध भएपछि जेलेन्स्की आफ्नो भ्रमण अपुरो राख्दै अमेरिका छोडेका छन् ।

पत्रकारहरूको उपस्थितिमा दुई राष्ट्रपतिहरूबीच भनाभननै भएको थियो र दुई देशहरूबीच कथित सम्झौता हुन पनि सकेन । यो सम्झौताले रुस र युक्रेनबीच युद्धविरामको बाटो खोल्न सक्छ भन्ने विश्वास गरिएको थियो । तर विवादसँगै समाप्त भएको यो कुराकानीले अहिलेको लागि यो आशालाई समाप्त पारेको छ । यसअघि ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की धेरै 'ठूलो सम्झौता' गर्न अमेरिका आउँदै गरेको बताएका थिए । ट्रम्पको घोषणा अघि, जेलेन्स्कीले अमेरिकासँग खनिज सम्झौतामा सहमति जनाएका थिए ।

ट्रम्प र जेलेन्स्कीबीच तनावपूर्ण घटनाक्रमपछि रुसमा भने खुशियाली छाएको छ । युक्रेनसँग अमेरिका टाढिदा त्यसको प्रत्यक्ष फाइदा रुसलाई हुने हुनाले रुसमा खुशीयाली छाएको हो । 

मस्को टाइम्सले रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाको भनाइ उल्लेख गर्दै ह्वाइट हाउसमा भएको यो चिच्याहटपूर्ण कुराकानीको क्रममा ट्रम्पले जेलेन्स्कीमाथि हात नउठानु आशिर्वाद भएको पनि बताएकी छन् । पत्रिकाका अनुसार उनले जेलेन्स्कीलाई अपमानजनक भाषा प्रयोग गरे र ट्रम्प र भान्सले आफूलाई संयमित राख्ने तरिका धैर्यताको जादू जस्तै भएको टिप्पणी गरेकी छन् ।

'मस्को टाइम्स' का अनुसार, पूर्व रूसी राष्ट्रपति तथा पुटिनका सहयोगी दिमित्री मेदवेदेवले पनि जेलेन्स्कीको लागि 'अभद्र' शब्द प्रयोग गरेका थिए र ओभल अफिसमा उनलाई राम्रो व्यवहार गरिएको बताएका थिए । मेदभेदेव हाल रुसको सुरक्षा परिषद्को उपप्रमुख हुनुहुन्छ। उनी फेब्रुअरी १८ मा साउदी अरेबियामा भएको रूस र अमेरिका बीचको वार्तामा प्रमुख वार्ताकारहरू मध्ये एक थिए ।  रुसको अग्रणी मिडिया संस्था आरटीले धेरै विदेश मामिला विज्ञहरूलाई उद्धृत गर्दै युक्रेनमा जेलेन्स्कीको शासनको उल्टो गणना सुरु भएको लेखेको छ । 

धेरै रुसी मिडियाले ट्रम्प र जेलेन्स्कीबीचको वार्ताको विवादमा युक्रेनी राष्ट्रपति मुछिएको आरोप लगाए पनि युक्रेनी मिडियाले जेलेन्स्कीको पक्ष लिएको छ । 'कीभ इन्डिपेन्डेन्ट' ले सम्पादकीय लेख्दै अब स्पष्ट रूपमा बोल्ने समय आएको उल्लेख गरेको छ । यस युद्धमा अमेरिकी नेतृत्वले पक्ष परिवर्तन गरे लेख्दै अमेरिकी जनताले पक्ष परिवर्तन नगरेको र अब उनीहरूले आवाज उठाउनु पर्ने सम्पादकीयमा लेखेको छ । 'विगत केही हप्ताहरूमा, अमेरिकी नेतृत्वले युक्रेनप्रति आफ्नो शत्रुता स्पष्ट रूपमा प्रदर्शन गरेको छ,' किभ इन्डिपेन्डेन्टले लेखेको छ । 

ट्रम्प र जेलेन्स्कीबीचको बहस बारे लेखिएको थियो, अमेरिकाको सहयोगी युक्रेनका राष्ट्रपति ह्वाइट हाउसबाट निकालिने इतिहासको पहिलो विश्व नेता बने । उनी न त तानाशाह थिए न त कुख्यात राजनीतिज्ञ । उनी युक्रेनका राष्ट्रपति हुन्, २१औं शताब्दीको सबैभन्दा भयानक आक्रमणहरू मध्ये एक भोगेको देशको नेता । त्यो देश जहाँ अमेरिकी प्रशासनले शान्ति ल्याउने वाचा गरेको थियो ।'

'युक्रेनले पाइरहेको सहयोगप्रति कृतज्ञ नभएकोमा अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिले जेलेन्स्कीलाई हप्काउने प्रयास गरे,' किभ इन्डिपेन्डेन्टले लेखेको छ, 'ट्रम्प चाहन्थे कि जेलेन्स्की उनको अगाडि झुकुन् । जेलेन्स्कीले पक्कै पनि संयमका साथ बोल्न सक्थे र आफ्ना भावनाहरूलाई नियन्त्रणमा राख्न सक्थे, तर उनलाई यस्तो परिस्थितिमा राखिएको थियो, जुन उनले पार गर्न सकेनन् ।'  

त्यस्तै कीभ पोस्टले यस कुराकानीको क्रममा जेलेन्स्कीले ट्रम्पलाई धेरै पटक तथ्य जाँच गरेको लेखेको छ ।

ट्रम्पले धेरै पटक गलत तथ्य र तथ्याङ्क प्रस्तुत गरे र जेलेन्स्कीले उनलाई सच्याएको लेखिएको छ ।  किभ पोस्टका अनुसार, जेलेन्स्कीले भने, 'पुटिनले हामीलाई नष्ट गरेको जानकारी साझा गरिरहेको हुन सक्छ । तर हामीले ट्रम्पलाई सोध्यौं, तपाईंले राष्ट्रपति पुटिनसँग अन्तिम पटक कहिले कुरा गर्नुभएको थियो र उनले के भने ?'

'युक्रेन्स्का प्राभदा' ले जेलेन्स्कीको फक्स न्यूजलाई दिएको अन्तर्वार्ताको पनि उल्लेख गरेको छ, जसमा उनले ट्रम्पसँग माफी माग्न अस्वीकार गरेका थिए ।  जेलेन्स्कीले भनेका थिए, 'मलाई लाग्दैन कि हामीले केहि नराम्रो गरेका छौं । हामी लोकतन्त्र र स्वतन्त्र मिडियाको पूर्ण सम्मान गर्छौं । तर युक्रेनको अवस्था बुझ्नुपर्ने केही कुराहरू छन् ।'

त्यस्तै यस घटनापछि विश्वका नेताहरुले पनि आफ्नो प्रतिक्रिया दिएका छन् । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भनेका छन्, 'रुसले युक्रेनमाथि गैरकानूनी र अन्यायपूर्ण रूपमा आक्रमण गरेको छ । तीन वर्षदेखि युक्रेनले साहस र लचिलोपनका साथ प्रतिकार गरेको छ। लोकतन्त्र, स्वतन्त्रता र सार्वभौमिकताको लागि उनीहरूको लडाई सबैका लागि महत्वपूर्ण लडाई हो ।'

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले  रूसले आक्रमण गरेको छ र युक्रेनका जनतामाथि आक्रमण भएको बताएका छन् ।

ट्रम्प र जेलेन्स्कीबीचको बहसको बारेमा सोध्दा उनले भने, 'हामीले सुरुदेखि नै लडिरहेकाहरूलाई सम्मान गर्नुपर्छ ।'  पोर्चुगल भ्रमणको क्रममा उनले भने, 'मलाई लाग्छ हामीले तीन वर्षअघि सुरु भएको रुसको आक्रमणको समयमा युक्रेनलाई सहयोग गरेर सही काम गरेका थियौं र त्यसो गरिरहनेछौं । हामी, अर्थात् अमेरिका, युरोपेली देशहरू, क्यानेडियनहरू र जापानीहरू, सबैले युक्रेनलाई सहयोग गरिरहेका छौं ।'

पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्- 'युक्रेनी साथीहरू, तपाईंहरू एक्लो हुनुहुन्न ।' त्यस्तै स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले लेखेका छन्- 'युक्रेन, स्पेन तिम्रो साथमा उभिएको छ ।' नर्वेका प्रधानमन्त्री जोनास गार स्टोरले लेखे- 'हामी युक्रेनको पक्षमा छौं र यस द्वन्द्वमा दिगो शान्तिको पक्षमा छौं ।'

स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टरसनले पनि युक्रेनलाई समर्थन गरेका छन् । उनले भने, 'स्वीडेन युक्रेनको साथमा उभिएको छ । तपाईंहरू आफ्नो लागि मात्र होइन सम्पूर्ण युरोपको स्वतन्त्रताको लागि लडिरहनुभएको छ ।'

त्यस्तै बेलायती प्रधानमन्त्री केयर स्टारमरले ट्रम्प र जेलेन्स्की दुवैसँग कुरा गरेका छन्। १० डाउनिङ स्ट्रिटका प्रवक्ताले भने- 'युक्रेनको लागि उनीहरूको समर्थन जारी छ ।' 

अमेरिकी नेताहरूबाट पनि प्रतिक्रिया आउन थालेको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सीएनएनलाई दिएको अन्तर्वार्तामा वार्ता पूर्ण रूपमा असफल भएको र जेलेन्स्कीले माफी माग्नु पर्ने बताए । उनले भने, ,उहाँले त्यहाँ गएर यस्तो विरोधाभासी अडान लिनु आवश्यक थिएन ।'
'ट्रम्प र भान्सले फोहोर काम गरिरहेका छन्,' डेमोक्र्याटिक सिनेटर चक शुमरले एक्समा लेखे । 

रिपब्लिकन कांग्रेसी डन बेकनले एक्समा लेखेका छन्- 'अमेरिकी विदेश नीतिको लागि यो नराम्रो दिन हो । युक्रेन स्वतन्त्रता, स्वतन्त्र बजार र कानूनको शासन चाहन्छ । ऊ पश्चिमको एक हिस्सा बन्न चाहन्छ । रूसले हामीलाई र हाम्रा पश्चिमी मूल्यमान्यताहरूलाई घृणा गर्छ । हामीले यो स्पष्ट पार्नु पर्छ कि हामी स्वतन्त्रताको पक्षमा छौं ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै