परासी । प्रेम सम्बन्धको विषयलाई लिएर उत्पन्न विवादमा झडप हुँदा नवलपरासीमा २० जना घाइते भएका छन् । घटनामा एकको अवस्था गम्भीर छ ।
आक्रोशित स्थानीयले प्रहरीको गाडीसमेत जलाई दिएका छन् । आगजनीबाट एक कवार्ड गोदाम ध्वस्त भएको छ ।
जिल्लाको पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ३ बेलासपुरमा मंगलबार प्रेम सम्बन्ध राखेका केटा पक्ष र केटी पक्षबीच झडप भएको हो । झडपका क्रममा केटा पक्षको समूहले केटी पक्षका आफन्तको कवार्ड गोदाममा समेत आगजनी गरी ध्वस्त बनाएका छन् ।
धोवी थर भएका केटासँग भएको प्रेम सम्बन्धको विषयलाई लिएर विवाद भएको हो । केटा र केटीको उमेर २० वर्षको हाराहारीमा रहेको स्थानीयले बताएका छन् । सोमबार साँझ केटाका भाइ काम विशेषले बेलासपुर आउँदा मोहरमका छोरा सोवराती पवरियासहितको समूहले कुटपिट गरेपछि विवादले उग्ररुप लिएको स्थानीयले बताएका छन् ।
स्थिति नियन्त्रण लिन ५ राउण्ड अश्रु ग्याँस र ३ राउण्ड हवाई फायर गरेको सूचना अधिकारी थापाले बताए । झडपका क्रममा अन्य ३ जना सर्वसाधारण पनि घाइते भएका छन् । घाइते हुने अन्यमा इन्स्पेक्टरसहित ११ जना नेपाल प्रहरी र चारजना सशस्त्र प्रहरीका रहेका छन् । टाउको र छातिमा चोट लागेका उनीहरूको अवस्था सामान्य अवस्था रहेको छ। उनीहरूको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
आगजनीमा संलग्न भएका चार महिलासहित ५ जनालाई पक्राउ गरिएको र अन्य खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।