काठमाडौं । गत शनिबार राती पोखरास्थित हुल तथा दंगा व्यवस्थापन शिक्षालयमा मृत फेला परेकी सशस्त्र प्रहरी बल नेपालकी इन्स्पेक्टर सन्तोषी महतको मृत्यू प्रकरणमा एक जना पक्राउ परेका छन् ।
उनलाई आत्महत्या गर्नका लागि बाध्य पारेको आरोपमा सिनियर इन्स्पेक्टर विवेक जोशी पक्राउ परेका हुन्।इन्स्पेक्टर जोशी महतभन्दा एक ब्याच सिनियर हुन् ।
कास्की प्रहरीका अनुसार, तनहुँस्थित सशस्त्रको २३ नम्बर गणमा कार्यरत इन्स्पेक्टर विवेक जोशीलाई पक्राउ गरिएको छ । पक्राउ परेका जोशीलाई कास्की ल्याइएको प्रहरीले जनाएको छ । उनलाई म्याद थपका लागि अदालत लगिने र थप अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।
स्रोतका अनुसार जोशीसँग प्रेम सम्बन्धमा रहेकी सन्तोषीले प्रेम सम्बन्धमा खटपटका कारण आत्महत्या गरेको प्रारम्भिक अनुमान गरिएको छ । सन्तोषीका परिवारले इन्स्पेक्टर जोशीविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा सोमबार किटानी जाहेरी दिएका थिए ।
२०७२ सालमा सशस्त्रकै सिपाहीमा भर्ना भएकी उनले २०७८ सालमा असईमा नाम निकालेकी थिइन् । त्यसपछि अहिले २०८१ सालमा इन्स्पेक्टरमा नाम निकालेर तामिल सुरु गरेकी थिइन् ।
उक्त घटना छानबिनका लागि प्रहरीले छानबिन टोली गठन गरेको छ । सोमबार राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा कार्यरत डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो । सिंहको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको प्रहरीले जनाएको छ ।