• २०८१ फाल्गुण १ बिहीबार

समय रैनाले युट्युबबाट हटाए 'इन्डियाज गट लेटेन्ट' का सबै इपिसोड

kharibot

काठमाडौँ । भारतका हास्य कलाकार समय रैनाले आफ्नो इन्डियाज गट लेटेन्ट कार्यक्रमका सबै भिडियो युट्युबबाट हटाएका छन् । 

पछिलो समय चर्चामा रहेका समयको इन्डियाज गट लेटेन्ट कार्यक्रम विवादित भएपछि उनले कार्यक्रमका सबै भिडियो युट्युबबाट हटाएको जानकारी दिएका छन् । इन्डियाज गट लेटेन्टको पछिल्लो कार्यक्रममा निकै अपशब्दको प्रयोग भएको भन्दै चौतर्फी आलोचना र प्रहरीमा एफआइआर समेत दर्ता भएको छ । समय रैनाले उनको उद्देश्य केवल मानिसहरूलाई हँसाउनु भएको बताएका छन् ।

'इन्डियाज गट ट्यालेन्ट' कार्यक्रममा अभिभावकमाथि गरिएको अश्लील टिप्पणीको सम्बन्धमा युट्युबर रणवीर इलाहाबादिया र समय रैनाविरुद्ध मुम्बईमा हालसम्म दुईवटा एफआईआर दर्ता भएका छन् । रणवीर र समय बाहेक, पहिलो एपिसोडदेखि अहिलेसम्म कार्यक्रममा भाग लिएका ३० जना पाहुनाहरू विरुद्ध पनि मुद्दा दायर गरिएको भारतीय मिडियामा उल्लेख गरिएको छ ।

समय रैनाको युट्युब कार्यक्रम इन्डियाज गट लेटेन्टमा अभिभावकमाथि अश्लील टिप्पणी गरेको विषय भारतको संसदमा समेत उठेको छ । 

'इन्डियाज गट लेटेन्ट' स्ट्यान्ड-अप कमेडियन समय रैनाको कार्यक्रम हो, जुन विवादको सामना गरिरहेको छ । यो एपिसोड फेब्रुअरी ८ मा युट्युबमा रिलिज भएको थियो । यो कार्यक्रममा बोल्ड कमेडी सामग्री समावेश रहेको थियो । 

समय रैनाको यस कार्यक्रमको प्रत्येक एपिसोडलाई युट्युबमा औसतमा २ करोडभन्दा बढी पटक हेरिएको थियो । यस कार्यक्रमका निर्णायकहरू समय बाहेक हरेक एपिसोडमा परिवर्तन भइरहन्छन् । प्रत्येक एपिसोडमा एक नयाँ प्रतियोगीले प्रस्तुति दिने मौका पाउँछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै