काठमाडौं । सामाजिक अभियन्ताको छवि बनाएका डा निकोलस भुसाललाई जिल्ला अदालत कास्कीमा लगिएको छ ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानको क्रममा हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेको हिरासतको तस्बीर सार्वजनिक गरेको आरोपमा उनीमाथि मुद्दा दायर भएको थियो ।
भुसालविरुद्ध बुधबार साइबर अपराधको कसुरमा मुद्दा दायर भएको थियो । बिहीबार बयान नसकिएको हुँदा उनी प्रहरीको हिरासतमा छन् । उनको बयान कास्की अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलासमा भइरहेको छ । बयान सकिएपछि थुनछेक बहस हुने र धरौटीमा छाड्ने कि थुनामा पठाउने भन्ने आदेश हुनेछ ।
गत पुस ७ गते उनले लामिछानेको तस्बीर सार्वजनिक गरेका थिए । सोही दिन साँझ पक्राउ परेका उनलाई पुस ८ मा अदालतमा म्याद थपका लागि लगिएको थियो । तर, अदालतले म्याद थप्न नमानेपछि हिरासतबाहिर नै राखेर अनुसन्धान भइरहेको थियो ।