• २०८१ माघ ५ शनिबार

आजको राशिफल: २०८१ माघ ४ गते शुक्रबार

kharibot

आजको राशिफल बि.सं.२०८१ माघ ४ गते शुक्रबार ई.सं.२०२५ जनवरी १७ नेपाल सम्बत ११४५ पोहेलागा चतुर्थी, कालयुक्त नाम संवत्सर सूर्य उत्तरायनं, हेमन्त ऋतु, माघकृष्ण चतुर्थी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, सौभाग्य योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०६: ५५ बजे, सूर्यास्त साँझ ०५: ३२ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ८ बजेर १५ मिनेट देखि ९ बजेर ३४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

बौद्धिकतामा निखार आउने दिन हो, अतः विषयवस्तुप्रति गम्भीर बन्न प्रयास गर्नुहोला, पढाइमा लगाव बढाउनुपर्छ, सोचेजस्तै रिजल्ट पाउन सकिने छ । शिक्षादीक्षाका क्षेत्रमा लागेका व्यक्तिले क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्ने दिन हो । सामान्य जनले समेत ज्ञानगुन, अध्यात्म र दार्शनिक विषयमा आकर्षण देखाउनेछन् । बौद्धिक र लेखनकार्यमा सफलता मिल्नेछ । ईष्र्या गर्नेहरूले आफ्ना प्रयास जारी राख्दासमेत तपाईंको बुद्धि र मिहिनेतले रङ देखाउने समय हो । व्यक्तित्व विकास वा थप अध्ययनको अवसर प्राप्त हुनेछ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

लवपार्टनर र घरपरिवारका लागि समय व्यवस्थापन गर्न सके सहज हुनेछ, अपेक्षित माया, विश्वास एवं समझदारी कायम रहनेछ । पदप्रतिष्ठामा अभिबृद्धि हुने तथा आम्दानीका मार्गहरू सहज हुने सुन्दर दिन छ, घरपरिवारमा सम्पर्क राखी भावना साटासाट गर्न पाउँदा शान्तिको अनुभूति हुनेछ । घरजग्गा, स्थिर सम्पत्ति र वाहनसुखको व्यवस्थापन गर्ने मनसाय बन्नसक्छ । दौडधूप गर्नुपर्ने काम वा भ्रमणमूलक कामबाट आर्थिक सन्तुलन कायम हुनेछ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

पारिवारिक वातावरण सुखमय रहनेछ, सँगीसाथीसित भेटघाट गर्दै नयाँ योजना बनाउने समय हो, कहीं कतै भ्रमणमा निस्कने योगसमेत बनेको छ । नजानेको वा नसुल्झिएको विषयवस्तुमा सहपाठीको सहयोग लिनुहोला, किनकि जब तपाईंको उद्देश्य सुदृढ हुन्छ, कडा परिश्रम विकल्प होइन आवश्यकता बन्ने गर्दछ । उत्कृष्ट खाना, रोमान्टिक पलहरू र इष्टमित्रको साथ नै आजको विशेषता हो भन्दा फरक पर्दैन, व्यक्तित्व विकास र करियर निर्माणको सही समय भएकाले उचित कार्ययोजनाका साथमा अघि बढ्नु जायज हुन्छ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

अतिरिक्त आम्दानीका लागि कुनै व्यवसाय, पेसा वा नोकरीका बारेमा आकर्षण छ भने अनुभवी र जान्नेबुझ्नेको राय लिएर अघि बढ्दा जाती हुन्छ । सकेसम्म समुचित कार्यका लागि कम बोलेको ठीक हुन्छ, तर बोल्न नपाए पनि हाउभाउ र सङ्केतका आधारमा काम निकाल्न सकिने छ । धनको कारोबार वा किनमेलका क्षेत्रबाट विशेष लाभ हुनेछ, घरबाट पनि धार्मिक कृत्य वा शुभ कर्म गर्ने सन्देश आउन सक्छ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

परिवारमा सुखसुविधाको जोहो गर्ने समय हो, फुटकर सामाग्रीका विक्रेता र खाद्यसामाग्रीको कारोबार छ भने अझ राम्रो गर्न सकिने छ । मनमस्तिष्क नै हलुका र उत्साही बन्नेछ, कामको चापबाट फुर्सद पाइने छ, जीवनसाथीका साथ कुनै सानोतिनो यात्रामा निस्कने योग बनेको छ । लगनशील भई परिश्रम गरेमा उत्कृष्ट परिणाम प्राप्त हुनेछ, आजको सानो प्रयासमा भाग्यको समेत साथ पाउनाले राम्रो रिजल्ट आउने छ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

राखनधरनप्रति सचेत हुने र तालसाँचो बलियो बनाउनुपर्ने दिन हो, अझ घरमा नयाँ र नौलो मानिसको उपस्थिति छ भने सतर्कता अपनाउनु होला । महत्त्वहीन र बेकारका काममा समय नबिताउनु होला, बरु मन स्थिर छैन भने एकछिन आराम गरेर फेरि पठनपाठनमा जुट्नु ठीक हुनेछ । एकाग्रतामा कमी हुने भएकाले कुनै एउटा विषयमा मात्र ध्यान केन्द्रित गर्न सकिंदैन, हेर्दा बाहिरबाट सामान्य झैं देखिनु हुन्छ, तर भित्रबाट मँडारिएको भावनाको बेगलाई कसैले पनि बुझ्न सक्दैनन् । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

एकअर्काका भावना बुझेर चल्नुपर्ने दिन हो, सहकर्मी वा सहपाठीका बीचमा प्रेम सम्बन्ध रहेको छ भने आजको दिन विशेष दिन बन्नसक्छ । उच्चकोटिको पारिवारिक सुख मिल्नेछ, लामो समयदेखि सम्पर्क भएको छैन भने आजको केही समय घरपरिवार र आफन्तलाई पनि छुट्याउनु होला । सरकारी कामका माध्यमबाट धनार्जन गर्न सकिने छ, कुनै प्रतिष्ठान वा कार्यालयको बाँकीबक्यौता उठाउनु छ भने प्रयास गर्नुहोला । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

करियर र भविष्यको सोच सलबलाउनेछ, कोसिस गरेमा कला, वाणिज्य, व्यवस्थापन र शिक्षाशास्त्रका उच्च तहका विद्यार्थीले कुनै अवसरसमेत पाउन सक्नुहुन्छ । उत्साहमा बृद्धि हुने समाचार सुन्न पाइने छ, सानो मिहिनेतले मानसम्मान बढ्नुका साथै ठूलाबडाको सद्भाव प्राप्त हुनेछ । प्रयास गरेमा आश मारेको काम अर्थात् नबन्ने काम पनि बनाउन सकिने छ । हाकिम वा वरिष्ठ कर्मचारीसँग निकटता बढ्नाले विशेष लाभ लिनसक्ने समय हो, अतिरिक्त आम्दानी हुनाले तत्कालको गर्जो टार्न सघाउ पुग्नेछ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

हातमा सह भएको दिन छ, नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने यसले सकारात्मक गति समात्नेछ । सही समय र स्थान छनौट गर्न सके हरेक कदम सफल हुनेछन् । कुनै नौलो विषयको अनुभव प्राप्त हुनेछ, जसले तपाईंको कार्यशैलीमा सुधार गर्नेछ । वरिष्ठ कर्मचारीको मद्दतले नसुल्झिएको गुत्थी सुल्झाउन सकिने छ । पारिवारिक बाध्यता वा कुनै सामाजिक व्यस्तताका कारण बेफुर्सदिलो भइने समय छ, तर अचानक पार्टनरसँग भेटघाट हुँदा मन फुरुङ्ग बन्नेछ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

आफन्त वा मित्रवर्गमा विरोधाभास र मतभेद बढ्ने समय हो । बल प्रदर्शन गर्ने र तुजुक देखाउने काममा पछि हट्नु ठीक हुन्छ । चुनौतीका बीचमा सम्भावनाका बाटाहरू फेला पर्नेछन् । नयाँ काम गर्नु छ भने कानूनी पाटो ख्याल गरी सुरु गर्नु उचित हुनेछ । स्वास्थ्यस्थितिप्रति चनाखो हुनुपर्छ, ढाडकम्मर, पेट र आँखाका बिरामीहरूले सतर्कता अपनाउने तथा दवाइपानी र आहारविहारमा ध्यान पुर्याउने समय हो । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

पारिवारिक जीवन र दाम्पत्य जीवन सुखमय रहनेछ । आज मिलनसार स्वभावको विकास हुनाका साथै ठूलाबडासँग सम्बन्ध बन्ने दिन हो । मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल, सुगन्ध र रेडिमेड वस्त्रका व्यवसायीले लाभ पाउने सङ्केत छ । पारिवारिक सुखमा कमी देखिंदैन, तथापि आजको कुनै समय वैवाहिक सम्बन्धका सुमधुर पलहरूको स्मृतिमा बित्ने तथा हृदय भावुक बन्नसक्ने दिन हो । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

ताकेको काम सम्पन्न हुनेछ, तर सानातिना विवादको बेवास्ता गर्दै अघि बढ्नुपर्छ । शत्रु र प्रतिद्वन्द्वीसँग सतर्क रहने समय हो, त्यस्तै रिस र घमण्ड बढ्नाले पनि अप्ठ्यारोमा पर्न सकिन्छ । निरङ्कुशता, घमण्ड र अहङ्कारलाई त्यागेर प्रगतिपथमा लम्कने समय हो, आजको कुनै एउटा राम्रो निणर्य तपाईंको सुखद अनुभवको कारक बन्नेछ । भेटघाट र मिलनको समय हो, तथापि मानसिक उलझन र चिडचिडेपन बढ्ने दिन छ, त्यसैले बेकारका कुराकानी र ख्यालठट्टामा कन्ट्रोल गर्नुपर्छ । 

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद सम्पर्क नं ९७७– ९८४२२१९७३५

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै