• २०८१ माघ २ बुधबार

राष्ट्रपति पौडेलद्वारा माघीको शुभकामना

kharibot

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले माघे संक्रान्ति एवम् माघी पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले यस पर्वलाई नेपालका विभिन्न जातजातिले आ-आफ्नै तरिकाले हर्षोल्लासपूर्वक मनाउँदै आइरहेको बताउदै थारू समुदायले माघी पर्वलाई नयाँ वर्षको रूपमा मनाउने तथा तराईवासीले नहान अर्थात नुहाउने पर्वको रूपमा मनाउने उल्लेख गरेका छन् । 

उनले भनेका छन्- 'आजको दिन बराहक्षेत्र, देवघाट, रिडीक्षेत्रलगायत देशका विभिन्न पवित्र नदीहरूमा स्नान गरी मन्दिरमा पूजा अर्चना गर्ने परम्परा रही आएको छ । त्यस्तै घ्यू, चाकु, तरुल, तलको लड्डु, सेलरोटी तथा खिचडी आदि परिकारहरू खाई परिवारसँग रमाइलो गर्ने प्रचनल पनि छ ।'

उनले यस्ता विशिष्ट र मौलिक पहिचान भएका जात्रा तथा पर्वहरू मनाउँदै साँस्कृतिक तथा जातीय विविधतालाई आपसमा जोडेर साझा नेपालीको पहिचान निर्माण गर्न सकिएमा हाम्रो मुलुकलाई विश्व सामु परिचित गराउन महत्त्वपूर्ण भूमिका रहने बताएका छन् ।

बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस प्रकारका चाडपर्वहरूले सम्पूर्ण नेपालीहरूको बीचमा बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुग्ने विश्वास लिएको राष्ट्रपति पौडेलले आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

साथै उनले माघे संक्रान्ति एवम् माघी पर्वबाट प्रकृति र संस्कृतिको संरक्षण गर्दै सभ्य, सुसंस्कृत र समतामूलक समाजको निर्माण गर्न प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै